गभर्नर अधिकारी निलम्बित

काठमाडौँ – सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद बैठकले अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो । अर्थमन्त्री जनार्दन शर्मासँगको असमझदारीका कारण अधिकारीलाई निलम्बन गरिएको बुझिएको छ । अधिकारीमाथि छानबिनका लागि निलम्बन गरिएको दाबी गरिएको छ । बिहीबारकै निर्णय भए पनि सरकारले अधिकारीको निलम्बन गोप्य राखेको थियो ।

शुक्रबार दिउँसोसम्म अधिकारी मन्त्री शर्मासँगै कार्यक्रममा थिए । अधिकारी २०७६ साल चैत २४ गते गभर्नर नियुक्त भएका थिए । ‘निलम्बनको हल्ला आएको छ, दिउँसोसम्म म मन्त्रीज्यूसँग कार्यक्रममै थिएँ, पत्र आइनसकेकाले केही थाहा भएन,’ उनले भने । अर्थमन्त्री शर्माले शुक्रबार बिहानको एउटा कार्यक्रममा अधिकारीमाथि आक्रोश पोखिरहेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्