दुर्गममा गाडी पुग्दा स्थानीयको खुसीयाली

मुगु – मुगुको छायाँनाथ रारा नगरपालिकाको एक विकट गाउँमा पहिलो पटक गाडी पुगेको छ।

गाउँमा गाडी आएपछि स्थानीय बासिन्दा खुसी भएका छन्। छायाँनाथ रारा नगरपालिका–६ लिउडी गाउँमा गाडी पुगेपछि स्थानीय बासिन्दाले खुसीयाली मनाएका थिए। कोटिला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकको छ किलोमिटर ट्याक खुलेसँगै गाडी लगिएको थियो।

वर्षौंदेखि गाउँबाट गाडी चढ्ने सपना अब पूरा भएको स्थानीयले बताए। छायाँनाथ रारा नगरपालिकाको रु ६७ लाख लगानीमा सडक निर्माण भएको हो। कोटिला मेलवाडा, रन्जनबालै हुँदै लिउडी सडकको आइतबार छायाँनाथ रारा नगरपालिकाका प्रमुख हरिजङ्ग शाही र उपप्रमुख सुन्तला रोकायाले संयुक्तरूपमा सडकको उद्घाटन गरेका थिए।

सडक उद्घाटन कार्यक्रममा छायाँनाथका नगरप्रमुख शाहीले चुनावका बेला लिउडीगाउँमा विद्युत् र सडक पुर्‍याउने वचन दिएकामा कार्यकालको अन्तिममा भए पनि सडक र विद्युत् पुर्‍याउन सफल भएको बताए। छायाँनाथ रारा नपाका हरेक बस्तीलाई सडक सञ्जालमा जोड्ने लक्ष्य, उद्देश्यबमोजिम करिब सबै बस्तीमा सडक पुगेको र बाँकी रहेका बस्तीमा वैशाखसम्म जसरी भए पनि सडक पुर्‍याउने उनले बताए। ‘लिउडी गाउँमा आलु र सिमी उत्पादन हुने गर्छ। यातायात सुविधा नहुँदा गमगढी बजारसम्म बोकेर भए पनि बिक्रीका लागि ल्याउने गरिएको र धेरै कुहिएर खेर जान्थ्यो,’ स्थानीय हरिलाल सेजुवालले भने, ‘अब गाउँमा गाडी पुगेको छ, धेरै उत्पादन हुने आलु, सिमी बजारीकरणमा सहज हुनेछ।’

नगरपालिकामा रहेका ८७ गाउँमध्ये अब कम्फा, तिर्प, सुम्ली, मुर्मा, सालिम गाउँमा सडक पुग्न बाँकी छ।

(रासस)

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्