सामुन्द्रिक चक्रवातको प्रभाव : वर्षा र हिमपातको सम्भावना

File Photo: Social Media

काठमाडौँ – बङ्गालको खाडीको मध्य पश्चिमी भूभागमा बनेको (जवाद) नामको सामुन्द्रिक चक्रवातको आंशिक प्रभावले देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ ।

जल तथा मौसम विज्ञान विभागले आज एक विशेष बुलेटिन निकालेर सो चक्रवात आज बिहान ओडिसाको तटीय क्षेत्रमा पुग्ने र तत्पश्चात् उत्तर पूर्व सर्ने देखिएकाले उक्त चक्रवातका कारण नेपालमा खासै ठूलो पानी पर्नै सम्भावना नरहेता पनि यसको अप्रत्यक्ष प्रभावले आज रातिबाट प्रदेश नं एक, दुई र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली भई सो प्रदेशका उच्च पहाडी तथा पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र हल्का वर्षाको सम्भावना रहेको जनाएको छ ।

आइतबारबाट पुनः अर्को पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव देशमा पर्नसक्ने सम्भावना रहेको विभागका मौसमविद् गङ्गा नगरकोटीले बताउनुभयो । उहाँका अनुसार सो पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले आइतबार सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली भई केही स्थानमा हल्कादेखि मध्यम वर्षा र सो प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

सोमबारबाट यो प्रणालीले देशभर प्रभाव पारी केही स्थानमा हल्कदेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको छ । आइतबार राति र सोमबार दिउँसो सो प्रणालीका कारण सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा भारी हिमपातको समेत सम्भावना रहेको बताइएको छ । यो प्रणाली सोमबार रातिबाट कमजोर बन्दै जाने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभागले यी मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई÷यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको ।

REED

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्