आईसीसी महिला टी–२० विश्व कप एसिया छनोट अन्तर्गत नेपाल हङकङसँग ६ विकेटले पराजित

काठमाण्डौ – आईसीसी महिला टी–२० विश्व कप एसिया छनोट अन्तर्गत नेपाल हङकङसँग ६ विकेटले पराजित भएको छ । नेपालले दिएको एक सय पाँच रनको लक्ष्य हङकङले चार विकेट गुमाएर १२ बल बाँकिमै भेटायो । हङकङका लागि मारिको हिलले नटआउट ४३ रन बनाइन् । यस्तै कप्तान केरी चानले १७ र नताशा मिल्सले १६ रन बनाइन् ।

बलिङतर्फ नेपालका कविता कुँवर, सीता राना मगर र सबनम राईले एकएक विकेट लिइन् । यसअघि दुबईमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय चार रन बनायो । अब नेपाली टोलीले टी–२० विश्व कप छनोटको दोस्रो खेलमा यही ७ गते भुटानसँग, ९ गते ओमानसँग, १० गते मलेसिया र ११ गते यूएईसँग खेल्नेछ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी–२० विश्व कपका लागि नेपालसहित ६ देशले ग्लोबल छनोटका लागि यूएईमा एसिया छनोट खेल्न लागेका हुन् । समूह विजेता टोलीले ग्लोबल छनोट खेल्न पाउनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्