नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपाल डोटीमा

डोटी – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल ठूलो केदार मेलामा पूजा तथा पार्टी कामका लागि यहाँ आइपुग्नु भएको छ ।

पवित्र धार्मिक तीर्थस्थल बडिकेदारमा आज हुने ठूलाकेदार मेलाको पूजाका लागि उहाँ यहाँ आइपुग्नु भएको हो । उहाँको साथमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पनि हुनुहुन्छ । उहाँहरु पूजाआजा गरी फर्किने कार्यक्रम तय भएको मन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार मन्त्री आलेले बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका पदाधिकारीसँग पनि बडिकेदारको थप प्रचारप्रसार तथा विकासका लागि छलफल गर्ने कार्यक्रम छ । बडिकेदारमा हरेक वर्ष तिहारपछिको चतुर्दशी तीथिमा पूजाआजा तथा मेला लाग्ने गर्दछ । बडिकेदारको ढुङ्गाका शिलामा पूजाआजा गर्ने गरिन्छ ।

शिवजीको प्रतिमूर्तिका रूपमा रहेको बडिकेदार शिला नजिकै ढुङ्गामा गाई र बाच्छाको मूर्तिसमेत छ । मूर्ति रहेको स्थान भौगोलिक रुपमा विकट अर्थात भिरको बीचमा छ । अन्य देवीदेवताको मन्दिरमाभन्दा बडिकेदारमा विभिन्न जातजाती भाषाभाषीको समान आस्थाको केन्द्र बन्दैगएको छ । प्रायःजसो सन्तान प्राप्त नभएका अधिकांश महिला–पुरुष पुत्रलाभको कामना गर्दै बडिकेदारमा पूजाका लागि पुग्ने गर्दछन् ।

उक्त मेलमा पछिल्लो समयमा भारतको उत्तर प्रदेशबाट पनि तीर्थालु भक्तजन आउने गरेको स्थानीयवासी तथा बडिकेदार क्षेत्र पर्यटन विकास तथा व्यवस्थापन समितिका अध्यक्ष देवबहादुर बोहराले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्