प्रधानमन्त्री देउवालाई भेट्न एमसीसी उपाध्यक्ष बालुवाटार पुगिन्, एमसीसी पास गराउने देउवाको संकेत

काठमाडौँ – मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)की उपाध्यक्ष फतिमा सुमारले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेकी छिन् ।

शुक्रबार प्रधानमन्त्री देउवालाई भेट्न उपाध्यक्ष फतिमा बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेकी हुन् । प्रधानमन्त्री देउवाले ट्विटरमा तस्वीर सार्वजनिक गर्दै भेटघाट भएको जानकारी दिएका हुन् ।

भेटमा उनीहरूले एमसिसीबारे आ–आफ्नो धारण राखेका थिए । साथै एमसिसीले नेपालको आर्थिक रूपान्तरण गर्न सक्ने सम्भावनाबारे छलफल भएको प्रधानमन्त्री देउवाले उल्लेख गरेका छन् । सो अवसरमा प्रधानमन्त्री देउवाले सरकार र एमसिसीबीच २०१७ मा सम्पन्न अनुदान सम्वन्धी कम्प्याक्ट अगाडि बढाउनका लागि आफूले राजनीतिक स्तरमा छलफल जारी राखेको बताए ।

’आज एमसिसीको उपाध्यक्ष फतिमालाई भेट्न पाउँदा खुसी लाग्यो,’ देउवाले लेखेका छन्,’हामीले नेपाल–अमेरिकी सहयोग एमसिसी कम्प्याक्ट र यसले नेपालको आर्थिक रूपान्तरणका सम्भावनाबारे आ–आफ्नो विचार राख्यौं।’

भेटमा उपाध्यक्ष सुमारले संसदबाट एमसिसी छिटो अनुमोदन हुने विश्वास व्यक्त गर्दै नेपालको आर्थिक विकासका लागि यसले महत्वपूर्ण योगदान गर्ने धारणा राखिन् ।

यसअघि उपाध्यक्ष सुमारले नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायत शीर्ष नेताहरूलाई भेटेकी थिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्