स्थानीय युवक हत्याको आरोपमा कार्यपालिका सदस्य पक्राउ, मेयर र उपमेयर फरार

सांकेतिक तस्बिर

काठमाडौँ – स्थानीय एक युवाको मृत्यु भएको घटनामा धनुषाको हंसपुर नगरपालिकाका कार्यपालिका सदस्य श्याम राउत पक्राउ परेका छन् ।

उनीविरूद्ध जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको थियो । उनलाई प्रहरीले केही दिन अगाडि नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटका अनुसार राउतलाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको छ । घटनाका मुख्य आरोपी मेयर र उपमेयर र वडाध्यक्षहरूसहित ६ जना भने अझै फरार रहेको प्रहरीले जनाएको छ ।

२०७६ साउन २१ गते नगरपालिकाको केन्द्र सार्ने विषयमा मेयर रामज्ञान मण्डल र उपमेयर रेणु झा पक्षबीच झडप भएको थियो । झडपमा घाइते भएका स्थानीय ५५ वर्षीय तपेश्वर मण्डलको उपचारको क्रममा गत भदौ १८ गते मृत्यु भएको थियो ।

सो घटनामा पीडित परिवारले मेयरसहित वडा नम्बर ३ का अध्यक्ष उदय सिंह, वडा सदस्य श्याम राउत र वडा नम्बर ४ का लालबाबु यादवविरुद्ध किटानी जाहेरी दिएका थिए । उपमेयर झा, ४ नम्बरका वडाध्यक्ष किशोरी यादव, २ नम्बरका वडाध्यक्ष उदय साहविरुद्ध समेत ज्यान मार्ने अभियोगमा मुद्दा दर्ता भएको थियो ।

मेयर मण्डलमाथि मृतकका छोराले र उपमेयर झाविरुद्ध मेयर मण्डलका समर्थकले उजुरी दिएका थिए । प्रहरीले यस घटनामा थप अनुसन्धान अघि बढाएको छ । फरार व्यक्तिहरूको खोजी गरिरहेको कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्