यसै साताभित्र ३२ लाख डोज खोप नेपाल आउने

काठमाडौँ – चीन र जापान सरकारले अनुदानमार्फत् दिने भनेर घोषणा गरेको कोरोना खोप यसै साताभित्र नेपाल आउने भएको छ ।

आइतबार गृह मन्त्रालयमा भएको छलफलमा स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले चीनबाट १६ लाख र जापानबाट १६ लाख खोप यही साताभित्र आउने जानकारी गराए ।

केही समयअघि चीन र जापानले अनुदानस्वरुप नेपाललाई १६/१६ लाख डोज खोप दिने भनेका थिए । चीनले यसअघि पनि नेपाललाई दुई चरणमा १८ लाख भेरोसेल खोप अनुदानमा दिएको थियो । त्यसबाहेक सरकारले चीनसँग ४० लाख डोज खोप पनि खरिद गरिसकेको छ । सोही खोप अहिले देशभर लगाइराखिएको छ ।

जापानले भने खोप पहिलोपटक दिन लागेको हो । जापानले दिन लागेको खोप एन्ट्रेजेनेकाको हो । सरकारले उक्त खोप यसअघि कोभिसिल्डको पहिलो डोज लगाएर दोस्रो डोज लगाउन बाँकी रहेकालाई लगाउने तयारी गरेको छ । राज्यमन्त्री श्रेष्ठले फाइजरको ४० लाख डोज खोप खरिद गर्नलाई आवश्यक तयारी पनि भइरहेको जनाए ।

साथै संक्रमणको तेस्रो लहर आउने सक्ने भन्दै त्यसको तयारीमा अहिलेदेखि नै जुट्नुपर्ने उनको भनाइ छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्