रवीन्द्र मिश्रको प्रस्ताव: संघीयता खारेजी, धर्मनिरपेक्षताबारे जनमत संग्रह

काठमाडौं – विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयता खारेज गर्नुपर्ने प्रस्ताव गरेका छन् । मिश्रले बहस र छलफलका लागि भन्दै दस्तावेज सार्वजनिक गर्दै धर्मनिरपेक्षताबारे भने जनमत संग्रह गर्ने धारणा अगाडि सारेका छन् ।

दस्तावेजमा नेपालमा शिशु अवस्थामै रहेको संघीयतालाई देशले राजनीतिक, आर्थिक र भूराजनैतिक कुनै पनि दृष्टिकोणबाट धान्न सक्दैन भन्ने विज्ञ तथा सर्वसाधारणको कमी छैन भनी उल्लेख गरिएको छ ।

‘धर्मनिरपेक्षताबारे जनमत संग्रह र स्थानीय निकायलाई पुनर्संरचना र सुदृढ गर्दै संघीयताको खारेजी नेपालको परिप्रेक्ष्यमा अग्रगमन हो, पश्चगमन होइन । यो मार्ग परिवर्तन हो,’ दस्तावेजमा भनिएको छ, ‘गोरखा जानुपर्ने मान्छे, गोरखपुरतिर हिँडेर कहिले गोरखा पुगिँदैन । लोकतान्त्रिक अधिकारको कुरा हो, कसैलाई गोरखपुर नै प्यारो लाग्छ भने गए हुन्छ । तर गोरखपुर त्यस्तो गन्तव्य हो जहाँ पुगिसकेपछि मार्ग परिवर्तन गर्ने कुनै सम्भावना रहँदैन ।’

पार्टीले संघीयता थप भ्रष्टाचार र आर्थिक भारको स्रोत भएको उल्लेख गदै संघीयता नेपालको अखण्डताको लागि घात भएको ठहर गदै यो प्रमुख संस्थाहरुलाई क्षयीकृत गर्ने अर्काे कडी भएको उल्लेख गरेको छ ।

दस्तावेजमा अगाडि भनिएको छ,‘संविधान निर्माण हुनुअघि संघीयताको पक्षमा देखिएका कयौं नेता तथा सर्वसाधारणसमेत संघीयताले सिंहदरबारको भ्रष्टाचार गाउँगाउँसम्म पु¥याएको, अनावश्यक रूपमा जनप्रतिनिधि तथा कर्मचारीको संख्या बढाएको, शासकीय दृष्टिकोणबाट झन् भाँडभैलो फैलाएको, संघीयताको आर्थिक बोझ अर्थतन्त्रले धान्न नसक्ने देखिँदै गएको र दीर्घकालमा यसले देशको अखण्डतामाथि समेत प्रश्न सृजना गर्ने सम्भावना बढेको भन्दै आलोचना गर्न थालेका छन् ।’

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्