साइबेरियाली बकुल्ला महोत्तरीमा

सांकेतिक तस्बिर

जलेश्वर, वैशाख १४ गते । महोत्तरीको गौशाला नगरपालिका–५ बस्ने हजारी साहको अहिले दैनिक दुइ घण्टा इलाका प्रहरी कार्यालय गौशालाको वरिपरि बित्ने गर्दछ ।

उहाँ जस्तै स्थानीय सञ्जय चौधरी, विजय साह र जीवन लामाले पनि विगत १४/१५ दिनदेखि दैनिक इलाका प्रहरी कार्यालय गौशालाको वरिपरि आएर २/३ घण्टा बिताउने गरेको बताउनुभयो । पशुहाट बजारको लागि प्रख्यात महोत्तरीको गौशाला नगरपालिका केही वर्षदेखि साइबेरियाली बकुल्लाको वासस्थान बनेको छ । खास गरेर नगरपालिका–५ स्थित इलाका प्रहरी कार्यालय गौशालाको परिसरमा रहेका दर्जनौँ रुख अहिले साइबेरियाली बकुल्लाले गर्दा सेताम्मे बनेका छन् ।

सात समुद्रपारिबाट विगत १०/१२ वर्षदेखि निरन्तर प्रत्येक चैत महिनाको अन्तिम तथा वैशाखको शुरुआतसँगै इलाका प्रहरी कार्यालय गौशालामा हजारौंको सङ्ख्यामा ती बकुल्ला आउने गरेको स्थानीय रवीन्द्र उप्रेतीले बताउनुभयो । गर्मीको अवसर पारेर प्रजनन तथा बच्चा कोरल्न सही र उपयुक्त स्थान ठान्दै ती बकुल्ला यहाँ ५/६ महिनासम्म बस्ने गरेको उहाँले बताउनुभयो । जताततै सेतासेता र लामा चुच्चो भएका बकुल्ला देख्दा गौशालामा जो कोहीको मन लोभिने र घण्टौँ बिताएर जाने गरेको शिक्षिका सुनीता महतोले बताउनुभयो । उहाँले ती बकुल्ला इलाका प्रहरी कार्यालय गौशालाका अग्ला अग्ला मसला, आँप, साल, सिसौँका बोट नै छोपिने गरी बस्ने र २४ सै घण्टा विभिन्न आवाज निकालेर सबैलाई आफूतिर आकर्षित गर्ने गरेको बताउनुभयो ।

साना, ठूला बकुल्लाको झुण्ड चैत वैशाखमा यहाँ आएर गर्मीभर प्रजनन र बच्चा कोरलेपछि असोज कात्तिकतिर जाडो शुरुआतपछि साइबेरियातिर फर्किने गरेको गौशाला नगरपालिकाका मेयर शिवनाथ महतोले बताउनुभयो । मेयर महतोले नेपालमा कतै पनि नभएर गौशाला नगरपालिकामा नै प्रत्येक वर्ष आउने यी बकुल्लाले गौशालालाई पर्यटन र पंक्षी विशेषज्ञलाई आकर्षित गर्न सफल भएको बताउनुहुन्छ । साथै ६ महिनाको बसाइमा बकुल्लाले यहाँको वातावरणलाई मधुर र रमणीय बनाइदिने गरेको उहाँको बुझाइ छ ।

उहाँले ती बकुल्लालाई थप बास स्थान र पर्याप्त चाराका लागि गौशाला नगरभरि नै विशेष प्रकारका बिरुवा रोप्ने र खाली चौरमा विभिन्न प्रजातिका बोटविरुवा लगाउने अभियानको थालनी गर्न लागेको बताउनुभयो । बकुल्लाले स्थानीय मानव एवम् अन्य पशुपक्षी तथा बालीनालीमा कुनै प्रकारको क्षति र हानि नगर्ने हुनाले सबैले यसलाई मन पराउने गरेको इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक विष्णु प्रदीप बस्यालले बताउनुभयो ।

स्थानीय समाजसेवी दिनेश महतोले वर्षेनी आउने यी बकुल्लालाई गौशालामै टिकाउन पर्याप्त बास स्थान र चाराको व्यवस्थापन गरी यसको संरक्षण र संवर्धन गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले यसको संरक्षण, संवर्धनले गौशालाको पर्यटन बढाउन साथै विज्ञको शोधखोजको गन्तव्य बन्ने धारणा राख्नुभयो ।

रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्