बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गर्दै थ्री नेसन्स कपको उपाधि नेपाललाई

नेपालले थ्री नेसन्स कपको उपाधि जितेको छ। दशरथ रंगशालामा सोमबार भएको फाइनलमा बंगालदेशलाई २-१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो। नेपाली सिनियर टिमले अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताको उपाधि पाँच वर्षपछि जितेको हो।

यसअघि नेपालले सन् २०१६ मा एएफसी सोलिडारिटी कपको उपाधि जितेको थियो। नेपाललाई उपाधि दिलाउने क्रममा सन्जोग राई र विशाल राईले एक/एक गोल गरे। बंगलादेशले दोस्रो हाफमा एक गोल फर्कायो। बंगालदेशका लागि महबुबुर रहमानले ८३ मिनेटमा गोल फर्काए। सन्जोगले १८ मिनेटमा नेपालका लागि पहिलो गोल गरे।

सुनील बलको कर्नर प्रहारलाई बंगलादेशका डिफेन्डर राम्रोसँग क्लियर गर्न नसकेको बलमा सन्जोगले डिबक्स भित्रबाट गोल गरे। यो उनको पहिलो अन्तर्राष्ट्रिय गोल हो। उनले गत शनिबार बंगलादेशविरुद्ध नै डेब्यू गरेका थिए। यो नेपालले १८ महिनापछि गरेको पहिलो गोल हो। सन् २०१९ को सेप्टेम्बरमा चाइनिज ताइपेईविरुद्ध गोल गरेपछि नेपाल लगातार ७ खेलसम्म गोल गर्न चुकेको थियो।

४१ मिनेटमा नेपालले अग्रता दोब्बर पार्‍यो। सन्जोगले निकालेको सुन्दर पासमा विशाल राईले अग्रता दोब्बर पारेका हुन्। एन्फाको आयोजना भएको प्रतियोगितामा नेपाल र बंगलादेशसहित किर्गिस्तानको यु-२३ टिमबीच प्रतिस्पर्धा भएको हो। समूह चरण नेपालले दुवै टिमसँग गोलरहित बरारबी खेल्दै फाइनलमा स्थान बनाएको थियो। बंगलादेशले भने किर्गिस्तानको यु-२३ टिमलाई १-० गोलले हराएर फाइनलमा स्थान बनाएको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्