निर्वाचन आयोगले अर्थ मन्त्रालयसँग माग्यो ७ अर्ब बजेट

काठमाडौँ – निर्वाचन आयोगले आगामी वैशाखमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सात अर्ब सात करोड ९८ लाख रुपियाँ बजेट माग गरेको छ । आयोगले बजेट माग गर्दै निकासाका लागि बुधबार अर्थ मन्त्रालयमा पत्राचार गरेको हो ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले विगतका निर्वाचनमा भएको खर्चभन्दा मितव्ययी हुने गरी बजेट कार्यविधि तयार गरिएको जानकारी दिए । उनले कोभिड महामारीको समयमा निर्वाचन सञ्चालन र व्यवस्थापन गर्नु परेको हुँदा त्यसमा अपनाउनुपर्ने स्वास्थ्य सतर्कतालाई ध्यान दिई निर्वाचन सञ्चालन आर्थिक कार्यविधि तयार गरिएको जानकारी दिए ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग बजेट व्यवस्थापनलगायतका विषयमा आयोगमा मङ्गलबार नै छलफल भएको थियो । प्रवक्ता श्रेष्ठले त्यही छलफलका आधारमा निर्वाचन सञ्चालन र व्यवस्थापनका लागि न्यूनतम कार्यका लागि मात्र बजेट माग गरिएको बताए । उनले विगतका निर्वाचनमा प्रयोग गरी हाल रहेका मतपेटिकालगायत विभिन्न उपकरण र सवारीसाधन मर्मत गरी प्रयोग गर्ने व्यवस्था गरिएको जानकारी दिँदै यसले गर्दा नयाँ सामग्री, उपकरण र सवारी साधन खरिदका लागि बजेटमा समावेश नगरेको बताए ।

आयोगका अनुुसार कोभिड सङ्क्रमणबाट बच्न सुरक्षा सतर्कताका लागि आवश्यक पर्ने न्यूनतम सुरक्षा व्यवस्थाका लागि ३७ करोड ४१ लाख रकम आयोगले प्रस्ताव गरेको छ । प्रवक्ता श्रेष्ठका अनुसार निर्वाचनको काममा आयोग, ७७ वटै जिल्ला निर्वाचन कार्यालय, १६५ निर्वाचनअधिकृतको कार्यालय र मतदान केन्द्रमा खटिने कर्मचारी न्यूनतम सङ्ख्यामा रहने छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्