प्रतिनिधि सभा विघटन विरूद्ध आन्दोलनमा जाने निर्णय सर्वसम्मत, पार्टीभित्र बिवाद छैन : काँग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेको कदमविरूद्ध आन्दोलनमा जाने सर्वसम्मत निर्णय गरिएको भन्दै यसबारे पार्टीभित्र बिवाद नरहेको बताएको छ ।

सभापति शेरबहादुर देउवा आन्दोलनमा जाने पक्षमा नरहेको दाबीसहित सञ्चारमाध्यमहरूमा समाचार प्रकाशित भएको भन्दै कांग्रेसले सभापतिकै निर्देशनमा महामन्त्री पूर्णबहादुर खड्काले आन्दोलनका कार्यक्रम प्रस्ताव गरेर केन्द्रीय समितिबाट पारित भएको उल्लेख गरेको छ ।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार विज्ञप्ति निकालेर आन्दोलनमा जाने सर्वसम्मत निर्णय भएको बताउनुभएको छ । प्रतिनिधि सभा विघटनविरूद्ध कांग्रेस आन्दोलनमा रहेको उहाँको भनाइ छ ।

‘संसद विघटनको असंवैधानिक, अलोकतान्त्रिक र सर्वसत्तावाद उन्मुख कदम विरुद्ध नेपाली कांग्रेस निरन्तर आन्दोलनमा छ । कतिपय संचार माध्यममा नेपाली कांग्रेस भित्र विद्यमान सन्दर्भ र आन्दोलनबारे विवाद रहेको भ्रमपूर्ण समाचार प्रकाशित भएको हुँदा त्यसलाई स्पष्ट गर्न यो प्रेस नोट प्रकाशित गरिएको छ,’ कांग्रेसले भनेको छ ।

संसद विघटनपछि पुस १३, पुस २५, माघ ३ र माघ ८ गते संघीय निर्वाचन क्षेत्रदेखि वडा तहसम्म गरिएका प्रदर्शनहरु सभापति देउवाको निर्देशनमा महामन्त्री खड्काले केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गरेर सर्वसम्मतिले बैठकबाट पारित भएर सम्पन्न गरिएको कांग्रेसले बताएको छ ।

कांग्रेसले माघ १९ गते सोमबार, माघ २४ गते शनिबार र फागुन ३ गते सोमबार आन्दोलन गर्ने बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्