विद्यालय व्यवस्थापन समितिको चुनाव सकेर फर्किदा एक युवकको विभत्स हत्या, वडा अध्यक्ष समेत शंकाको घेरामा

काठमाडौँ – बझाङको छबिसपाथिभेरा गाउँपालिका–३ को बन्नीचौर माध्यमिक विद्यालयको व्यवस्थापन समितिको चुनाव सकेर घर फर्किने क्रममा एक युवकको विभत्स हत्या भएको छ । ।

छबिसपाथिभेरा गाउँपालिका– ३ का स्थानीय अमृत सिंहको खुँडा प्रहार गरि विभत्स हत्या गरिएको प्रहरीले जनाएको छ ।

युवकको हत्या गर्न वडाध्यक्षको सरकारी मोटरसाइकल प्रयोग भएको खुलेको छ । छबिसपाथिभेरा गाउँपालिका–२ का वडाध्यक्ष विकास ऐडीको सरकारी मोटरसाइकल प्रयोग भएको कुरा आएकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उनी तत्कालीन नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् । सिंहको हत्या प्रकरणमा स्वयंम वडाध्यक्ष समेत शंकाको घेरामा रहेकाले थप कुरा अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार सिंहको हत्यामा संलग्न भएको आरोपमा मंगलबार नै छबिसपाथिभेरा–२ का ज्ञानबहादुर कडायलाई पक्राउ गरिएको छ भने अर्का युवक प्रकाश ऐडी फरार छन् । प्रकाश नातामा वडाध्यक्ष ऐडीका भाइ पर्ने प्रहरीले जनाएको छ ।

विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी निकट उम्मेदवार गजेन्द्र धामी २८ मतले काँग्रेस निकट उम्मेदवार लोेकेन्द्र बोहरासँग पराजीत भएका थिए ।

धामीले १ सय ४९ र बोहराले १ सय ७७ मत प्राप्त गरेको बुझिएको प्रहरीले जनाएको छ । उनका अनुसार हत्या गरिएका सिंह विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा विजयी बोहरा निकटका व्यक्ति हुन् ।

यसअघि समेत सो विद्यालयमा व्यवस्थापन समिति गठनको विषयमा विवाद हुँदै आएको बुझिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्