चौरजहारी घटनामा संलग्नको आरोपमा थप ३ जना पक्राउ, पक्राउ पर्नेको संख्या २८ पुग्यो

रुकुम (पश्चिम) – रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती गाउँमा जेठ १० गते भएको घटनाका फरार दूई जना सहित ३ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वडानम्बर–८, का घमण्ड मल्ल, विष्णु मल्ल र सबिन पुन रहेको प्रहरी नायब उपरीक्षक ठग बहादुर केसीले बताए । उनका अनुसार यसअघि पीडितले दिएको उजुरीका आधारमा फरार रहेका दुईजना र थप खुल्न आएको एकजना गरी ३ जनालाई पक्राउ गरिएको छ ।

पीडितले दिएको जाहेरीका आधारमा फरार दुईजनालाई घटना घटेको १८ दिनपछि पक्राउ गरिएसंगै सोती घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले बताएको छ । प्रहरीले यसअघि फरक–फरक समयमा २५ जनालाई पक्राउ गरेको थियो । पछिल्लो समय थप ३ जनालाई पक्राउ गरेसंगै सोती घटनामा संलग्न रहेको आरोपमा पक्राउ पर्नेको संख्या २८ पुगेको छ ।

बिहेका लागि जेठ १० गते जाजरकोटबाट सोती पुगेका १८ जना युवाहरुको समुहलाई गाउँलेले लखेट्दा ६ जनाको मृत्यु भएको थियो । सोही घटनामा संलग्न रहेको आरोपमा सोती गाउँका २८ जना पक्राउ परेका हुन् । पक्राउ परेका सबैजनालाई हाल प्रहरी हिरासतमा राखेर घटनाको थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्