२५–३० लाख नेपालीहरुलाई एकै पटक स्वदेश फर्काउन सकिदैनः प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संकटका कारण विदेशमा रहेका सबै नागरिकलाई एकैपटक नेपाल ल्याउन सम्भव नभएको बताएका छन् ।

बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले विदेशमा विद्यार्थी समेत गरेर २५–३० लाख मान्छे भएको अनुमान गरे । ती मान्छे एकैचोटी फर्किने अवस्था पनि नरहेको बताउँदै उनले अहिले तयारीको स्थिति राम्रो बन्दै गएको उल्लेख गरे ।

उनले कोरोना हामी सबैको साझा सत्रु भएको बताउँदै हरेक नेपाली कोरोना विरुद्धको सिपाही भएको बताए । उनले भने, ‘यसको बारेमा कसैले आलोचना गरेर सुझाव दिँदा त्यसलाई नकारत्मक रुपमा लिनुहुँदैन । सारा संसारमा कोरोनाले असर परिरहेको बेला नेपालमा पनि पर्नु स्वभाविक हो । नेपालमा पनि सुरुमा रोकथामको प्रयास गरेको हो । सरकारले गरेको प्रयास शतप्रतिशत ठीक रहेको भन्न सकिदैन । छापावाल सुन जस्तो पूर्ण नभएपनि प्रयास गरेको हो ।’ उनले सुरुमा पीसीआर टेष्ट गर्न हङकङ पठाउनुपरेपनि अहिले २१ वटा मेसिन हुँदाहुँदै समेत ब्यवस्थापनमा केही कमजोरी रहेको बताए । मेसिन भएपनि नचलाइएको अवस्था रहेको र त्यसलाई चुस्त दुरुस्त गर्न लागेको उनले बताए ।
लकडाउन गरेर केही नहुनु नै ठूलो कुरा भएको बताउँदै लकडाउन, सामाजिक दुरी कायम गर्ने कुरा, मास्क लगाएर हिड्ने, हात धुने कुरा, राम्रो खानुपर्छ भनेर अगाडि बढाएको कुरा सामान्य कुरा नभएको उल्लेख गरे ।

उनले महामारीको विषय दलीय विषय नभएको बरु मानवीय, सामाजिक विषय भएको बताए । कतिपय प्राविधिक विषय भएकोले त्यो राजनीतिक विषय नभएको बताए । आरडिटी प्रयोग गर्ने कि नगर्ने, पिसिआर कति कसरी प्रयोग गर्ने भन्ने विषय प्राविधिक विषय भएको उल्लेख गरे । उनले भने, ‘बजेटले कोरोनालाई छोएन भन्ने कुरा पनि आयो तर बजेट कोरोनामै केन्द्रीत छ । रोकथाम नियन्त्रण र उपचारमा मात्र सम्बिन्धित नभई हाम्रो जनजीवन, आर्थिक अवस्था, विकास निर्माणसँग सम्बन्धित रहेको छ । साउनको अन्तिमतिर पिकमा पुग्ने र कार्तिकको अन्त्यतिर समाप्त हुने विश्व स्वास्थ्य संगठनको अनुमान छ । विदेशबाट लाखौ नेपाली फर्कदैछन्, अझै पछि सम्मपनि कायम रहन सक्छ ।’

लाखौंको संख्यामा रोजगारीमा गएकाहरु फर्किदै गरेकोले हिजोको सामथ्र्यले अबको समस्या समाधान गर्न नसकिने प्रधानमन्त्रीको भनाइ छ । त्यसका लागि कृषिमा आधुनिकीकरण गरेर यूवाहरुलाई त्यसमा सहभागी गराउनु रहेको बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्