काठमाडौँ – वैदिक सनातन धर्मावलम्बीहरूले आज वर्षभरि देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर कुशेऔँशी पर्व मनाउँदैछन्। यो पर्व प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन मनाउने गरिन्छ।
शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर ल्याइएको कुश घरमा राख्नाले परिवारको कल्याण हुने धार्मिक विश्वास छ। आजका दिन उखेलिएको कुश वर्षभर प्रयोग गर्न सकिने र अन्य दिनमा उखेलिएको कुश सोही दिन मात्र उपयोग गर्न सकिने शास्त्रीय मान्यता रहेको प्राध्यापक डा. देवमणि भट्टराईले जानकारी दिए। सनातन धर्मावलम्बीहरूले कुश, तुलसी, पीपल र शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रूपमा पूज्ने गर्छन्।
पितृसम्मान दिवस र बाबुको मुख हेर्ने दिन यसै अवसरमा आज छोराछोरीले परम्पराअनुसार आफ्ना बाबुलाई मन पर्ने मिठाइ तथा भोजन गराई आदर–सम्मान प्रकट गर्दै ‘बाबुको मुख हेर्ने’ गर्दछन्। ‘पितृदेवो भव’ भन्ने धार्मिक मान्यताअनुरूप जीवित बाबुलाई श्रद्धापूर्वक रुचिअनुसारको खाना खुवाएर आशीर्वाद प्राप्त गरेमा जीवनमा सुख मिल्ने विश्वास गरिन्छ।
बाबु नहुनेहरूले भने काठमाडौँको उत्तरपूर्वी भेगस्थित उत्तरगयाका रूपमा परिचित गोकर्णेश्वर महादेव मन्दिर परिसर, रसुवा र नुवाकोटको सङ्गमस्थल वेत्रावती लगायतका पवित्र तीर्थस्थलमा गई तर्पण, पिण्डदान तथा श्राद्ध गर्ने गर्छन्। गोकर्णेश्वरमा विशेष मेला लाग्ने भएकाले यस औँसीलाई ‘गोकर्णे औँसी’ पनि भनिन्छ। मेलाको सम्पूर्ण तयारी पूरा भइसकेको गोकर्णेश्वर नगरपालिका वडा नं. ४ का अध्यक्ष जयराम महतले बताए।
‘बुद्धोक्त पाराजिकाय’ नामक धर्मग्रन्थका अनुसार यस दिन तीर्थस्थलमा गई तर्पण तथा सिदादान गरेमा पुण्य मिल्नाका साथै कुल स्थिर हुने उल्लेख छ। आजका दिन गरिएको थोरै दानले पनि हजारौँ गुणा बढी फल दिने भएकाले यसलाई महापुण्य पर्वका रूपमा लिइन्छ।



