शनिबार थपिएका १२ संक्रमित पनि भारतबाट आएका थिए

सर्लाही – सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या तीव्र रुपमा बढ्न थालेको छ । शनिबार बिहानै जिल्लामा १३ जना सङ्क्रमित थपिएका छन् । उनीहरू सबै भारतबाट आएका थिए । हाल गोडैता नगरपालिकाका १२ जना र कविलासी नगरपालिकाका एक जनामा सङ्क्रमण पुष्टि भएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रकाशित गरेको प्रेस विज्ञप्तिमा सङ्क्रमितहरू १८ देखि ३५ वर्ष उमेरका पुरुषहरू छन् । थपिएका सङ्क्रमितमध्ये गोडैताका १२ जना नगरपालिकाको क्वारेन्टाइनमा छन् भने कविलासीका सङ्क्रमित अहिले काठमाडौँमै रहेका र उतै परीक्षण गराएको बुझिएको प्रजिअ जिसीले बताए ।

शनिबार १३ सङ्क्रमित थपिएसँगै सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ । यसअघि शुक्रबार मात्रै गोडैता नगरपालिकाका १३ जना र रामनगर गाउँपालिकाका एक जनामा सङ्क्रमण देखिएको थियो । एक जना सङ्क्रमितको गोडैता ठेगाना उल्लेख भए पनि ती व्यक्तिको पहिचान भएको छैन । गोडैता नगरपालिकाले सूचना निकालेर नगरपालिकाभित्र शुक्रबार १३ जना सङ्क्रमित मात्रै फेला परेको जनाएको छ ।

सीमावर्ती क्षेत्रस्थित गोडैता नगरपालिकामा भारतबाट आएकामध्ये गएको बुधबार ८१ जनाको स्वाब सङ्कलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो । जसमध्ये शुक्रबार १३ जना र शनिबार १२ जनामा सङ्क्रमण पुष्टि भएको नगरप्रमुख देवेन्द्र यादवले बताए । भारतबाट अहिले पनि मानिसहरू आइरहेकाले सङ्क्रमित बढ्न सक्ने सम्भावना रहेको उनको भनाइ छ ।

शुक्रबार सङ्क्रमण पुष्टि भएका गोडैता नगरपालिकाका १३ र रामनगर गाउँपालिकाका एक जनालाई राति अबेर मात्रै कोभिड अस्पताल जनकपुर पठाइएको थियो । एम्बुलेन्स नपाउँदा सङ्क्रमितलाई अस्पताल पठाउन घण्टौँ लागेको नगरप्रमुख यादवले बताए । उनले शनिबार बिहान थपिएका १२ जना सङ्क्रमितलाई जनकपुर पठाउन पहल गरिरहेको जानकारी दिए । गाेरखापत्रअनलाइन 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्