पोखरा विश्वविद्यालयमा उपकुलपति र रजिष्ट्रार नियुक्त गर्न माग

पोखरा – पोखरा विश्वविद्यालय प्रजातन्त्रवादी प्राध्यापक सङ्घले लामो समयदेखि रिक्त उपकुलपति र रजिष्ट्रार यथाशीघ्र नियुक्त गर्न माग गरेको छ । सङ्घले विज्ञप्ति जारी गर्दै विश्वविद्यालय लामो समयदेखि नेतृत्व विहीन बनेको भन्दै विश्वविद्यालयमा शैक्षिक एवं प्रशासनिक गतिविधि ठप्प भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सङ्घका अध्यक्ष सञ्जीव थापाद्वारा आज यहाँ हस्ताक्षरित विज्ञप्तिमा देशकै दोस्रो ठूलो विश्वविद्यालय नेतृत्वविहीन बनिरहँदा झण्डै ३० हजार विद्यार्थीको भविष्य अन्योलमा परेको भनिएको छ । कोरोनाको सङ्क्रमणबाट बच्न सरकारले बन्दाबन्दी गरेदेखि नै विश्वविद्यालयका अध्ययन–अध्यापन, अनुसन्धान, परीक्षा सञ्चालन, परीक्षाफल प्रकाशनलगायत अन्य प्रशासनिक कार्य पूर्णरूपमा ठप्प हुन पुगेको प्रति गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा जनाइएको छ ।

रिक्त पदमा योग्य र सक्षम व्यक्ति नियुक्ति गर्नसमेत माग गर्दै विज्ञप्तिमा पदपूर्ति गर्न विभिन्न बहानामा थप ढिलाइ नगर्न र हजारौँ विद्यार्थीको भविष्य अन्योलमा नपार्न आग्रह गरिएको छ । विज्ञप्तिमा विश्वव्यापी कोरोना महामारीका बेला कत्ति विचलित नभई सुरक्षाका विधि अपनाउँदै सुरक्षित रहन सम्पूर्ण प्राध्यापक, कर्मचारी र विद्यार्थीलाई आग्रहसमेत गरिएको छ । पोखरा विश्वविद्यालयमा विगत आठ महिनादेखि उपकुलपति र रजिष्ट्रार पद रिक्त छन् भने २०७७ वैशाखदेखि परीक्षा नियन्त्रक, विभिन्न सङ्कायका डीन र विभिन्न केन्द्रका कार्यकारी निर्देशकको पद रिक्त भएको छ । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्