प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीको राजीनामा माग

काठमाडौं – कोरोना रोकथाम तथा महामारी नियन्त्रणका लागि सरकारले काम गर्न नसकेको भन्दै प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरिएको छ ।

नीति तथा कार्यक्रममाथिको छलफलमा प्रतिपक्षी दलका सांसद दिव्यमणिराज भण्डारीले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले प्राथमिकताका साथ काम गर्न नसकेको भन्दै राजीनामा दिएर मार्गप्रशस्त गर्न माग गरेका हुन् ।

सरकारमा रहेका मन्त्रीहरुले समेत प्रधानमन्त्रीलाई सहयोग नगरिरहेको अवस्थामा राजीनामा दिन उनले आग्रह गरे ।
नीति तथा कार्यक्रममा जनताको ज्यान बचाउने, गासको व्यवस्था गर्ने र विदेशबाट आफ्ना नागरिक ल्याउने केही योजना नदेखिएको उल्लेख गर्दै उनले यो परिस्थितिमा प्रधानमन्त्रीलाई राजीनामा दिन सुझाव दिए ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले सीमामा अलपत्र नागरिकलाई स्वदेश भित्र्याउन नसक्ने सरकारले भूमि फिर्ता ल्याउन नसक्ने बताए । नीति तथा कार्यक्रममाथिको छलफलमा थापाले सीमा क्षेत्र र खाडीमा अलपत्र परेका नागरिकलाई ल्याउन नसक्ने सरकारले भूमि फिर्ता ल्याउनै नसक्ने बताउनुभो । माटो मात्रै राष्ट्रियता नभएको उल्लेख गर्दै थापाले मान्छे र माटो दुबै राष्ट्रियता भएको बताए ।
कम क्षमता भएका मान्छेहरुले बनाएको नीति तथा कार्यक्रमका कारण देश दुर्घटना नजिक पुगेको उनले दावी गरे । थापाले नीति तथा कार्यक्रम प्रधानमन्त्री एक्लैले लेख्ने कविता वा कुनै एक मन्त्रीले लुकेर लेख्ने अध्यादेश नभएको बताए । समाजवादी पार्टीका सांसद प्रदीप यादवले तत्काल नीजि अस्पताललाई राष्ट्रियकरण गरेर नागरिक बचाउन आग्रह गरे ।
दिनप्रतिदिन संक्रमितको संख्या बढिरहेको उल्लेख गर्दै उनले यस्तो बताएका हुन् ।  सरकारले लक डाउनको समयावधि बढाइरहेपनि संक्रमितको संख्या पनि बढिरहेको उनले बताए । अहिलेका स्वास्थ्य पूर्वाधारहरु कोरोना रोकथामका लागि पर्याप्त नभएको उनले बताए । रातोपाटीबाट

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्