कोरोनाबाट युवकको मृत्युपछि ३८ जना अस्थायी क्वारेन्टाइनमा

बाँके – एक युवकको कोरोना सङ्क्रमणबाट निधन भएपछि बाँकेको नरैनापुर गाउँपालिका ५ स्थित दीपेन्द्र प्रावि क्वारेन्टिनमा रहेकाहरुलाई पालको अस्थायी क्वारेन्टिनमा सारिएको छ । उक्त क्वारेन्टिनमा रहेमा २५ वर्षीय युवकको आइतबार मृृत्यु भएपछि ३८ जनालाई जयकिसन माविको प्राङ्गणमा पालबाट अस्थायी क्वारेन्टिन बनाई सारिएको नरैनापुर गाउँपालिका स्वास्थ्य शाखा प्रमुख मोहम्मद मोइन खाँले जानकारी दिए ।

उनका अनुसार युवकको मृत्यु भएको दीपेन्द्र क्वारेन्टिनमा बस्न नमानेपछि सबैलाई जय किसान माविमा सारिएको हो । जयकिसन माविमा यसअघि नै ६० जना रहेकाले दीपेन्द्र प्राविबाट सारिएकालाई प्राङ्गणमा पालको क्वारेन्टिन बनाएर राखिएको छ । नरैनापुर ५ मटेहियास्थित नयाँबस्तीका २५ वर्षीय युवकको आइबार बिहान क्वारेन्टिनमा आफ्नै आँखा अगाडि निधन भएपछि त्यहाँ रहेकाहरुले आफूलाई अन्यत्र सार्नुपर्ने माग राख्दै आएका थिए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले क्वारेन्टिनमा आइतबार अचानक भएको निधनपछि क्वारेन्टिनहरुलाई थप व्यवस्थित गर्दै स्वास्थ्यकर्मी र एम्बुलेन्स तयारी अवस्थामा राखिएको जानकारी दिए । एक अस्थायी क्वारेन्टिन थपिएसँगै नरैनापुुरका १२ क्वारेन्टिनमा अझै पनि ७५९ जनालाई राखिएको खरालको भनाइ छ । सदरमुकाम नेपालगञ्जदेखि करीब ३५ किलोमिटर दक्षिण पूर्व राप्तीपारि अवस्थित नरैनापुरमा एक जनाको ज्यान जानेगरी नौ जनामा कोरोना सङ्क्रमण देखिएपछि आवतजावत बन्द गरी सङ्क्रमण न्यूनीकरणका लागि उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

अलपत्रको उद्धार हुँदै
घोराही– दाङको घोराही उपमहानगरपालिकाले प्रत्येक वडामा क्वारेन्टिन निर्माण गरी भारतको सीमा क्षेत्रमा आइपुगेकाहरुको उद्धार शुरु गरेको छ । कोरोना सङक्रमण फैलन नदिनका लागि गरिएको लकडाउनका कारण सीमामा अलपत्र नगरका बासिन्दालाई सीमामै पुगेर बसमार्फत सम्बन्धित वडाको क्वारेन्टिन पु¥याउन शुरु गरिएको नगर प्रमुख नरुलाल चौधरीले जानकारी दिए ।

उपहानगरपालिकाका करीब एक हजार तीन सय नागरिक भारतबाट आउने अनुमान गरिएको छ । अहिले प्रत्येक वडाले विद्यालयलाई क्वारेन्टिनका रुपमा प्रयोग गर्ने गरी धमाधम निर्माणको काम थालेको उपमहानगरले जनाएको छ । तत्कालका लागि करीब ५० जना अट्ने गरी प्रत्येक वडामा क्वारेन्टिन निर्माणको काम भइरहेको बताइएको छ ।

नगरले आइतबार कोइबासस र कृष्णनगर नाकामा आएका नागरिकलाई उद्धार गरेर घोराही ल्याएको नगरका प्रवक्ता भरतमणि अर्यालले जानकारी दिए । भारतका चण्डीगढ, हरियाणा र दिल्लीबाट सीमामा आइपुुगेकाहरुलाई उद्धार गरेर घोराहीका विभिन्न वडामा निर्माण गरिएको क्वारेन्टिनमा राखिएको बताइएको छ । रासस

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्