लिम्पियाधुरा सहितको नेपालको नयाँ नक्सा तयार, मन्त्रिपरिषद्मा लैजाने तयारी

काठमाडौं – सरकारले लिम्पियाधुरा सहितको नक्सा जारी गर्ने भएको छ ।

भारतले अतिक्रमण गरेको नेपाली भू–भाग समेटेर नेपालको नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा जारी गर्ने भएको हो ।

सरकारको नीति तथा कार्यक्रममा समेत सो विषय आइसकेकोले भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले मन्त्रिपरिषदमा नयाँ नक्सा सहितको प्रस्ताव लैजाने तयारी गरेकी छन् । मन्त्रालय स्रोतका अनुसार नयाँ नक्साको अधिकांश काम तयारी अवस्थामै छ ।

सरकारको नीति तथा कार्यक्रममै लिम्पियाधुरा, कालापानी र लिपुलेक सहितको नक्सा जारी गर्ने भनिएको र नेकपा सचिवालय बैठक तथा संसदीय समितिले पनि निर्देशन दिइसकेकोले नयाँ नक्सा प्रकाशन गर्न नापी विभागलाई मन्त्री अर्यालले निर्देश गरेकी हुन् । विभागले नयाँ नक्सा तयार पारिसकेको छ ।

नापी विभागले तयार पारेको नक्सालाई मन्त्री अर्यालले मन्त्रिपरिषद बैठकमा लगेर छलफल गरेपछिमात्र त्यो पारित हुनेछ । नक्सा सार्वजनिक गर्नुअघि सरकारले त्यसका प्राविधिक, कुटनीतिक र अन्य सबै पक्षलाई विचार गरेर परिपक्व निर्णय गर्नुपर्ने मन्त्रालयका एक उच्च अधिकारीले बताए । नेपालको संविधानको अनुसूचीमा उल्लेखित राष्ट्रिय नक्सामा समेत लिम्पियाधुरा छैन । सरकारले लिम्पियाधुरा सहितको नक्सा जारी गरेर भारतले अतिक्रमण गरेको भूमि फिर्ता ल्याउन कुटनीतिक पहल गर्ने भएको छ । अनलाइनखबरबाट 

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्