९ जना सुरक्षाकर्मीमा कारोनाको संक्रमण

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणको अग्रपङ्तीमा खटिएका सुरक्षाकर्मीमध्ये शनिबारसम्म नौजना सुरक्षाकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ । सङ्क्रमण देखिन थालेपछि चारवटै सुरक्षा निकायलाई कार्य क्षेत्रमा खटिँदा उच्च सतर्कता अपनाएर काम गर्न गृह मन्त्रालयले निर्देशन दिएको छ ।

शनिबार नेपाली सेनाका दुई जवानमा पहिलो पटक कोरोना सङ्क्रमण भेटिएको सेनाले जनाएको छ । मध्यपूर्वी पृतना, महोत्तरीमा कार्यरत दुईजना जवानमा कोरोना भाइरसको सङ्क्रमण भेटिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए । सङ्क्रमितमध्ये काभ्रेका २६ र महोत्तरीका ५२ वर्षीय पुरुष छन् । सङ्क्रमितहरुको यात्रा विवरणलगायतको विषयमा खोजी कार्य भइरहेको प्रवक्ता पाण्डेले बताए ।

गृह मन्त्रालयका अनुसार, यो हप्तामा नेपाल प्रहरीको तीन, सशस्त्र प्रहरी तीन र राष्ट्रिय अनुसन्धान विभागको एक गरी सात जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमितहरू मध्ये कपिलवस्तुमा चार, काठमाडौँमा दुई र बारामा एकजना छन् । विशेष गरी विभिन्न सीमा नाका, संक्रमितक्षेत्र, संक्रमित व्यक्तिको सम्बन्धमा आवश्यक सूचना सकंलन, बन्दाबन्दी कार्यान्वयन र उपत्यका प्रवेश नाकामा खटिएका सुरक्षाकर्मीहरू बढी जोखिममा रहेका छन् । प्रहरी जवानदेखि जुनियर अधिकृतसम्म संक्रमित भएको पाइएको छ ।
कपिलवस्तु जिल्लाको शान्ति सुरक्षा तथा सीमा क्षेत्रमा खटिएका नेपाल प्रहरीका प्रहरी नायव निरीक्षक (सई), हवल्दार, सशस्त्र प्रहरीको प्रहरी नायव निरीक्षक (सई) र अनुसन्धान विभागको सहायक अनुसन्धान अधिकृत छन् । काठमाडौँमा फेला परेका दुबैजना सशस्त्र प्रहरी कर्मचारी हुन् । शनिबार बारामा नेपाल प्रहरीका एक जवानमा कोरोना संक्रमण फेला परेको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न सरकारले जारी गरेको बन्दाबन्दी (लक डाउन) कार्यान्वयनमा सुरक्षाकर्मी सक्रिय छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्