काठमाडौं – चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको हिंसात्मक आन्दोलनमा संलग्न भएको अभियोगमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रसहित २५ जनामाथि जिल्ला अदालत काठमाडौंले पाँच दिनको म्याद थप गरेको छ।
राज्यविरूद्धको कसुर, संगठित अपराध तथा आपराधिक उपद्रव अन्तर्गत अनुसन्धान भइरहेको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा अदालतले थप म्याद दिएको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराका अनुसार अर्को समूहका २७ जनामाथि आपराधिक उपद्रवको कसुरमा मात्रै अनुसन्धान भइरहेको छ, र उनीहरूमाथि सात दिनको म्याद थप गरिएको छ। हालसम्म तीनकुने घटनासँग सम्बन्धित ५२ जना प्रहरीको हिरासतमा छन्। तीमध्ये राज्यविरूद्धको कसुरमा पक्राउ परेका दुई जना हाजिर जमानीमा छुटेका छन् भने आपराधिक उपद्रवको आरोपमा पक्राउ परेका ३४ जनालाई पनि हाजिर जमानीमा राखिएको एसपी बोहराले जानकारी दिए। चैत १५ गतेको आन्दोलनमा हिंसा भड्किएपछि आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंसमेत पक्राउ परेका थिए र अहिले प्रहरी हिरासतमा छन्। घटनामा संगठित अपराधको संलग्नता रहेको आशंका गर्दै अनुसन्धान अगाडि बढाइएको छ।
संगठित अपराध अन्तर्गत अनुसन्धान भइरहेकाले पक्राउ परेकाहरूलाई अधिकतम ६० दिनसम्म हिरासतमा राख्न मिल्ने कानुनी व्यवस्था छ।