लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतको भुमिका अविस्मरणीयः प्रधानमन्त्री ओली

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता सामाजिक जीवनको प्राणवायु भएको बताएका छन् । पाँचौँ राष्ट्रिय पत्रकारिता दिवसको सन्दर्भमा प्रधानमन्त्री ओलीले शुभकामना दिदै नेपालको लोकतान्त्रिक आन्दोलनमा सञ्चार जगतले निर्वाह गरेको भूमिका अविस्मरणीय रहेको चर्चा गरे । गोरखापत्र स्थापना भएको दिनलाई पाँच वर्षअघि सरकारले राष्ट्रिय पत्रकारिता दिवस मनाउने निर्णय गरेको हो ।
उनले भने, “पत्रकारको पेसागत हकहित र स्वतन्त्रताको रक्षाका लागि सरकार साथमा छ । प्रेस स्वतन्त्रताप्रति हाम्रो प्रतिबद्धता र अविचलित निष्ठा रहेको छ ।” प्रेस स्वतन्त्रता, लोकतन्त्र र राष्ट्रियताको संरक्षण, सामाजिक न्याय र समानताको प्रत्याभूति गर्दै शान्ति र स्थायित्वको प्रवद्र्धन तथा मानव अधिकारसम्बन्धी सरोकारलाई प्राथमिकतामा राखेर विकास र निर्माणमा सरकार अग्रसर भएको उनले बताए ।

उनले नीतिगत स्पष्टतासाथ सुशासन र दिगो विकासको बाटोमा सरकारका काम अगाडि बढिरहेको चर्चा गरे । “सरकारका हरेक कदम राष्ट्रको समृद्धि र जनताको सुखतर्फ अभिमुख छन्”, उनले भने, “नागरिकमा सत्य, तथ्य, निष्पक्ष र सन्तुलित सूचना प्रवाह गर्ने संवैधानिक अभिप्रायबाट प्रेसले सम्मानित र शक्तिशाली स्थान प्राप्त गरेको छ ।’’
उनले भने, “प्रेस स्वतन्त्रताको उपयोग गर्दा सत्य, तथ्य, विश्वसनीय र भरपर्दा सूचना पाउने नागरिकको नैसर्गिक अधिकारको सम्मान हुनेछ भन्ने मेरो विश्वास छ ।”
संविधानको प्रस्तावनामै पूर्ण प्रेस स्वतन्त्रताको प्रत्याभूति गरिएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले सामाजिक उत्तरदायित्व वहन गर्दै संविधानप्रदत्त हक अधिकार उपयोग गर्न राष्ट्रिय पत्रकारिता दिवसले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरे ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्