बिशाल बस्नेत/न्युज कारखाना
महोत्तरी, ४ माघ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा महोत्तरीका ३ वटा पालिकाहरुले शुन्य अंक प्राप्त गरेका छन् ।
स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८० को प्रयोजनका लागी संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमुल्यांकन कार्यविधि २०७७ अनुसार गरेको मुल्यांकनमा सवैभन्दा बढी अंक भने महोत्तरी गाँउपालिकाले पाएको छ ।
शुन्य अंक पाउनेहरुमा सम्सी, बल्वा, सोनामा र रामगोपालपुर रहेका छन् भने नम्बर पाएको आधारमा पनि सवैभन्दा कम नम्बर पाउनेमा बर्दिवास र लोहारपाटी नगरपालिका छन् ।
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनको प्रतिवेदनअनुसार लोहारपाटीले ५२.५ प्रतिशत अंक प्राप्त गरेको छ भने बर्दिवास नगरपालिकाले ५४.५ प्रतिशत अंक प्राप्त गरेको छ ।
स्वमुल्यांकनमा महोत्तरीपछी गौशाला नगरपालिका जिल्ला कै दोश्रो दोश्रो नगरपालिका वनेको छ । महोत्तरी गाँउपालिकाले ९ वटा शिर्षकमा गरेको मुल्यांकनमा शतप्रतिशत अंक प्राप्त गर्दा गौशालाले ८५ प्रतिशत अंक प्राप्त गरेको हो ।
त्यसपछि औरही, पिपरा र जलेश्वर नगरपालिका छन् उनीहरुले क्रमशः ७७.२५ प्रतिशत, ७५.५ प्रतिशत र ७०.२५ प्रतिशत अंक प्राप्त गरेका छन् ।
मुल्यांकनलाई ९ भागमा विभाजन गरिएको छ जसमध्ये शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, बार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय एंव आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्यसम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद व्यवस्थापन, सहकार्य र समन्वय छन् ।
वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा पनि बर्दिवास नगरपालिका निक्कै कमजोर देखिएको छ । यस्मा २७.८८ प्रतिशत अंक मात्र प्राप्त गरेको प्रतिबेदनमा उल्लेख छ ।
त्यसैगरी मटिहानी नगरपालिकाले औसत ६१.२५ प्रतिशत, मनरासिस्वाले ६० प्रतिशत, एकादाराले ५९.५ प्रतिशत र भंगाहा नगरपालिकाले ५८.७५ प्रतिशत अंक प्राप्त गरेका छन् ।