काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारको कारण देश संकटमा परेको बताएका छन्।
नेकपा एमाले सिन्धुपाल्चोकले आयोजना गरेको प्रशिक्षण कार्यक्रमलाई बुधबार चौतारा सम्बोधन गर्दै महासचिव पोखरेलले सरकारको नीतिका कारण राज्य टाट पल्टिने तर सरकारको निकटका एक जना उद्योगी अरबपति बन्ने स्थिति आएको बताए। यो सरकारले लिएको गलत अर्थनीतिको कारण भएको पोखरेलको भनाइ छ। यस्तो अवस्थामा देशलाई सही बाटोमा ल्याउन नेकपा एमालेको नेतृत्व आवश्यक रहेको उनले बताए। नेकपा एमाले आफ्नो विचारमा स्पष्ट भएकोले देशलाई निकास दिन सक्ने पोखरेलले दाबी गरे। माओवादीलाई चुनावमा भाग नै नलिई सांसदमा भाग दिएर तत्कालीन नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले राजनीतिक अस्थिरताको बिउ रोप्ने काम गरेको उनले बताए। ‘अहिलेको अस्थिरता र निराशाको एउटा कारण यो पनि हो’, उनले भने।
राजनीतिक परिवर्तन सफल भयो भनेर अहिले सुतेर बस्ने बेला नभएको उनले बताए। ‘अब राजनीतिक क्रान्ति सफल भयो भनेर आराम गरेर सुतेर बस्ने बेला हो त ? अब नेतृत्व हासिल गरी समाज परिवर्तनको दिशामा अघि बढ्नु पर्छ’, उनले भने। पोखरेलले नेकपा एमालेका चुनौती के हुन् र अबको बाटो के हो भन्ने कुरा स्पष्ट भएको बताए। पार्टीले सञ्चालन गरेको मिसन ग्रासरुटले यी सबै कुरा क्लियर गरेको पोखरेलले प्रष्ट पारे। पार्टीमा अहिले विचारका, संगठनात्मक प्रणाली, राजनीतिक मुद्दा कुनै पनि विषयमा मतभेद नभएको बताए। ‘त्यसमा हामी एक ठाउँमा छौँ’, उनले भने।
यति हुँदाहुँदै पनि कतिपय नेता कार्यकर्ताको बिचमा अविश्वास यथावत् रहेको उनले बताए। आजको राजनीतिको मूल समस्या दक्षिणपन्थी अवसरवाद र राजनीतिक अराजकता रहेको पोखरेलले बताए। त्यो केही समस्या माधव नेपाल र झलनाथ खनालले लिएर गएका पनि अझै समस्या पूर्ण रूपमा नसकिएको उनको भनाइ छ। वैचारिक राजनीतिक कामको अभावमा अवसरवाद जन्मिने उनले बताए। कठिन संघर्षबाट आएका मानिसहरू पनि अवसरवादी बन्छन् भन्ने कुरामा ध्यान दिन पोखरेलले आग्रह गरे। बाली सपार्न गोडमेल र मलजल गर्नु परेजस्तै क्रान्तिकारितालाई जोगाइ राख्नलाई पनि गोडमेल र मलजल आवश्यक हुने पोखरेलले बताए। ‘समाज बदल्नु छ भने चेतनाको कुरा गर्नुपर्दछ, समाज बदल्नु छैन भने जे छ त्यही कुरा गरे हुन्छ’, उनले भने। पोखरेलले पार्टीका नेताहरूले नै समाजमा नयाँ विचार ल्याउनु पर्ने बताए। त्यसैले पार्टी नेताले सधैँ नयाँ विचार दिनु पर्नेमा उनले जोड दिए। पोखरेल सिद्धान्त जीवन्त हुनु पर्ने बताउँदै हरेक सिद्धान्त जीवनसँग जोडिनु पर्ने बताए।
सबैभन्दा क्रान्तिकारी भनिएका मोहनविक्रम सिंह आज श्रीमतीलाई राष्ट्रिय सभा सदस्य बनाउन नेपाली कांग्रेससँग बार्गेनिङ गर्ने अवस्थामा पुगेको भन्दै पोखरेलले आलोचना गरे। आफूलाई कम्युनिष्ट भन्नेहरू कांग्रेससँग मिल्न पुगेका भन्दै पोखरेलले उनीहरूले लिएको बाटो पुँजीवादको हो कि समाजवादको हो भन्दै प्रश्न गरे। नेकपा एमाले जनताको बहुदलीय जनवादको बाटोमा हिँडेको पार्टी भएको बताउँदै पोखरेलले जनताको बहुदलीय जनवाद नेकपा एमाले मात्र पेवा नभएको प्रष्ट पारे। जनताको बहुदलीय जनवाद नेपाली क्रान्ति र समाज परिवर्तनको विज्ञान भएको पोखरेलले बताए।