फागुनमा केपी ओली कप फुटबल हुने

काठमाडौं – एमाले भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले पार्टी अध्यक्ष केपी ओलीको नाममा फुटबल प्रतियोगिता आयोजना गर्ने भएको छ। राजधानीमा बुधबार पत्रकार सम्मेलन गर्दै संघले केपी ओली कप–२०८० आगामी फागुन ११ गतेबाट सुरु हुने जनाएको हो।

एक साता चल्ने प्रतियोगिताको फाइनल फागुन १९ गते हुने संघ अध्यक्ष क्षितिज थेवले बताए। उनका अनुसार प्रतियोगिताको फाइनल बाहेकका खेलहरु अखिल नेपाल फुटबल संघ (एन्फा) टेक्निकल सेन्टर च्यासलमा हुनेछ। फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तालिका तय भएको छ।

संघ अध्यक्ष थेवेले खेल र मनोरञ्जनको माध्यमबाट मात्रै युवाहरूलाई एकमुष्ट रुपमा सकारात्मक सन्देश दिन सकिने भएकाले फुटबल प्रतियोगिताको सुरुवात गर्न लागेको बताए। उनले भने, ‘खेल र मनोरञ्जनको माध्यमबाट मात्रै हामीले युवाहरुलाई एकमुष्ट रुपमा सकारात्मक सन्देश दिन सक्छौ र राजनीतिमा युवाहरुलाई अगाडि बढाउन सक्छौ भनेर हामीले फुटबल रोजेका हौं।’   यस्तै, उनले केपी ओली कप सम्पन्न नभएसम्मका लागि पार्टीको झण्डा र भाषणलाई विश्राम दिने पनि बताए।

उनले भने, ‘हामीले केपी ओली कप सम्पन्न नभएसम्मको लागि हाम्रो झण्डा र भाषण विश्राम गर्छौ। यसबाट हामीले नेपालको राजनीति र राष्ट्रि युवा संगठन नेपालले खेललाई हेर्ने दृष्टिकोण स्पष्ट छ भन्न खोजेको हो। खेल क्षेत्रको विकासको लागि पनि हामीले यो प्रतियोगिता आयोजना गर्न लागेका हौं। एन्फाले तोकेको मितिमा नै हामीले यसलाई सम्पन्न गर्न लागेका हौं। प्रतियोगितामा कुनै पनि पार्टीको झण्डा प्रयोग गर्ने छैनौ।’

पत्रकार सम्मेलनमा एमाले नेता महेश बस्नेतले खेलाडीहरु बेरोजगारीका कारणले विदेश जानुपर्ने अवस्था भएको भन्दै खेलकुद विश्वविद्यालय बनाउनुपर्ने बताए। उनले भने, ‘हाम्रो पहलमा खेललाई प्रवद्र्धन गर्ने कामहरु अगाडि बढाएका छाै। यस्तो प्रतियोगिताहरुले खेल जगतमा निकै ठूलो उत्साह र प्रोत्साहन दिन सकिन्छ। आज खेलाडीहरु बेरोजगारीका कारणले विदेश जानुपर्ने अवस्था छ। खेलकुद विश्वविद्यालय बनाएर नेपाली खेलाडीहरुमार्फत संसारमा नेपालको नाम राख्ने कुरामा हामी अगाडि बढ्नु पर्छ।’ प्रतियोगितामा नेपालका ’ए डिभिजन’ तथा विदेशी टीमलाई समेत सहभागी गराइने जनाइएको छ। प्रतियोगितामा विजेताका लागि ट्रफी र पदकसँगै ११ लाख रुपैयाँ नगद पुरस्कार छ भने उपविजेता टिमले ५ लाख नगद पाउने छ।

त्यस्तै उत्कृष्ट खेलाडीले एक लाख, उत्कृष्ट गोलरक्षकलाई ५० हजार, उत्कृष्ट गोलकर्तालाई ५० हजार, उत्कृष्ट उदीयमान खेलाडीलाई ५० हजार, म्यान अफ द म्याचलाई १५ हजार नगद पाउने छन्। त्यस्तै हरेक खेलका विजेता टीमलाई २५ हजार नगद प्रदान गरिने छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्