कप्तान पौडेलले भने – ‘अब ‘हाई टाइम’ भइसक्यो, क्रिकेट पूर्वाधारमा लगानी बढाउनुपर्छ’

काठमाडौँ  – नेपाली राष्ट्रिय क्रिकेट टाेलीका कप्तान राेहितकुमार पाैडेलले क्रिकेटकाे पूर्वाधारमा लगानी गर्नुपर्ने बताएका छन् । एसिया कप क्रिकेट खेलेर स्वदेश फर्किएपछि आज बुधवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै कप्तान पौडेलले अब ‘हाई टाइम’ भइसकेकाले सरकारले पूर्वाधारमा लगानी बढाउनुपर्ने बताएका हुन् । उनले एकै ठाउँमा अभ्यास गरिरहँदा अभ्यास स्तर राम्रो बनाउन नसकिने पनि बताए । भारत र पाकिस्तानसँग खेल्ने सपना पूरा भएको र नेपाली खेलाडीले धेरै कुरा सिकेको उनकाे भनाइ थियो।

‘भारत र पाकिस्तानसँग खेल्ने रहर पूरा भएको छ । सबैले राम्रो महसुस गरिरहेका छन् । यो वर्ष हाम्रा लागि राम्रो भयो । हामीले प्रशिक्षक, समर्थक सबैको साथ र सहयोग पायौँ । विश्वकै उत्कृष्ट बलरले बल फालिरहँदा हाम्रो तर्फबाट राम्रो खेल्दा पोजेटिभ फिल भइरहेको थियो ।’ संचारकर्मीहरुसँग कप्तान रोहितले भने, ‘नयाँ अनुभव लिएका छौँ । अब हाई टाइम भइसक्यो, अब इन्फ्रास्ट्रक्चरमा लगानी गर्नुपर्छ । एउटै स्ट्रक्चरमा सबैले अभ्यास गरिरहनुपरेको छ । खेलाडीमा इन्भेस्ट गरेमा राम्रो हुन्छ ।’

एसिया कपमा नेपालले विश्व क्रिकेटका दुई महाशक्ति भारत र पाकिस्तानसँग खेलेको थियो । भारत र पाकिस्तानसँग खेलेर फर्किएको टोलीलाई सशस्त्र प्रहरीको ब्यान्डले विमानस्थलमा बाजागाजासहित स्वागत गरेको थियो । क्रिकेट टोलीलाई स्वागत गर्न विमानस्थलमा समर्थककाे भिड लागेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्