काठमाडाैँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले नेता तथा पूर्वमन्त्री महेशकुमार बस्नेतले महानगरपालिकाको कदमप्रति घोर भत्र्सना गरेको छ । उहाँले गरिबको संरचनामाथि डोजर चलाइएकोप्रति घोर आपत्ती जनाएका छन् । शनिवार काठमाडौँको पेप्सीकोलामा नेपाल सोतोकान कराते संघ भक्तपुर जिल्ला समितिद्वारा आयोजित प्रथम इन्टर डो च्याम्पियनशिप प्रतियोगिताको उद्घाटन शत्रमा बोल्दै उहाँले मेयर बालेन्द्र शाहलाई लक्षित गर्दै उहाँको कार्यशैलीप्रति असन्तुष्टि जनाएका हुन् ।
उहाँले भन्नुभयो “भर्खर जोगी भएर खरानी दलेर मैदानमा आएकाहरुलाई विकासको अर्थ थाहा छैन । विकास के हो हामीबाट सिक्नुहोला”
आफु जनताको पक्षमा बोलिरहेकोले मेयर पक्षधरहरुले आफुमाथि खनिएपनि सामाना गर्न तयार रहेको र यस पक्षमा एक्लै सामाना गर्ने समेत उहाँले बताएका छन् ।
गरिबका छोराछोरी खाडी मुलकमा पसिना बगाएर मेहनत गरि बनाएको संरचनामाथि स्पष्टीकरण नै नसोधि डोजर चलाउने अधिकार नभएको उहाँले बताउनुभयो । बर्षाैबर्षसम्म विकासका लागि आफुहरु खटिएर लागिपरेको बेला बिचमा गलत कदम चाल्नको लागि नआउन उहाँले काठमाडौँ महानगरपालिकाका मेयर शाहलाई चेतावनी दिनुभयो ।
धेरै बर्ष पहिले स्थापना गरिएका घरहरुमा अहिले मापदण्ड खोजेर डोजर चलाउनेलाई जनताले नछोड्ने र आफुहरुपनि त्यसविरुद्ध लागिपर्ने समेत उहाँले बताएका छन् । विकास जनतालाई पेलेर होइन सम्झाएर र बुझाएर गर्न समेत ध्यानाकर्षण गराउनुभयो ।