काठमाडौं – नेपाल व्यापार संघको अध्यक्षमा हरि गौतम सर्वसम्मत निर्वाचित भएका छन् । शनिवार काठमाडौँको बबरमहल स्थित कार्की बैंक्वीटमा संघको ३१ औं साधारण सभा तथा १६ औँ महाधिवेशनबाट हरि गौतमको अध्यतामा नयाँ कार्य समिति गठन भएको हो । यस अधि कुमार कार्की अध्यक्ष रहनुभएको थियो । यसैगरी कार्यसमितिको बरिष्ठ उपाध्यक्षमा कृष्ण अधिकारी, प्रथम उपाध्यक्षमा गिरीराज पोखरेल, द्धितिय उपाध्यक्षमा श्याम रुङ्टा, काठमाडौं उपाध्यक्षमा विपिन शर्मा, महिला उपाध्यक्षमा पार्वती भट्ट पौडेल र इन्दिरा लामिछाने पौडेल चयन भएका छन् । महासचिवमा दिपक सापकोटा, कोषाध्यक्षमा चिफ बहादुर थापा तथा उपमहासचिवमा निरञ्जन सेढाई र दामोदर पन्त रहनुभएको छ ।
यसैगरी सातै प्रदेश उपाध्यक्षको रुपमा मधेश प्रदेशबाट गोपी चन्द्र अग्रवाल, बाग्मती प्रदेशबाट दुर्गा बहादुर गौतम, सदूरपश्चिम प्रदेशबाट कोमल सुन्दर श्रेष्ठ, कर्णाली प्रदेशबाट सोमित थापा, गण्डकी प्रदेशबाट जयकृष्ण शर्मा, लुम्बिनि प्रदेशबाट कुमार थापा र प्रदेश नं. १ बाट तेज प्रसाद आचार्य चयन भएका छन् ।
यस्तै सचिवमा सुरेन्द्र पौडेल, पवन कुमार अग्रवाल, हरिराम डाँगी, दिपक प्रसाद सापकोटा, ज्योती कुमार श्रेष्ठ, ठाकुर नाथ आचार्य, देवराज कार्की सर्वसम्मन चयन भएका छन् भने महिला सचिवमा लक्ष्मी कुमारी बराल र बिमला कुवर केशी चयन भएका छन् ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडुको प्रमुख आतिथ्यतामा आयोजना भएको साधारण सभाको उद्घाटन सत्रमा विभिन्न वक्ताहरुले शुभकामना दिएका थिए । कार्यक्रममा बोल्दै मन्त्री बडुले व्यापारीहरुलाई राहत दिन सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।
साना तथा मझौला व्यवसायीहरुको साझा संस्थाका रुपमा रहेको नेपाल व्यापार संघको स्थापना २०४७ सालमा भएको हो । १०५ सदस्यीय नयाँ कार्यसमिति महाधिवेशनबाट चयन भएको छ ।
नवनिर्वाचित अध्यक्ष हरि बहादुर गौतमका अनुसार व्यवसायीका समस्याहरु समाधानका लागि तथा चुनाव लोकतान्त्रिक प्रक्रिया भए पनि यसबाट व्यवसायीहरु विभाजित भएर जाँदा व्यवसायीलाई नै घाटा हुने भएकाले पनि सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नु पर्ने बताउनुभयो ।
५१ सदस्यीय सल्लाहकार, १५० जना आजीवन सदस्य रहेको संघमा साधारण सदस्य भने १ हजार जना रहेका छन् ।
नवनिर्वाचित अध्यक्ष गौतमले सबै जिल्ला, काठमाडौंका प्रत्येक वडामा इकाइ गठन गर्ने समेत प्रतिवद्धता जनाउनुभएको छ । उहाँले व्यवसायीहरुका आवाज उठाउने गरी नेतृत्व गर्ने दाबी समेत गर्नुभएको छ । राष्ट्रले व्यापारीलाई हेर्न दृष्टिकोणमा परिवर्तन गर्ने, नाकाहरुमा व्यापारीहरुलाई सहज आवतजावतमा जाने वातावरण मिलाउने, ३० किलोमिटर क्षेत्र भित्र मात्रै जानपाउने व्यवस्थाको अन्त्य गर्ने, जथाभावी लिने करकोको अन्त्य गर्ने लगायतका विषयमा आफु सचेत रहेको समेत अवगत गराउनुभयो ।
यस्तै उद्दारमा सहज गर्ने,अनाथ असाहयहरुलाई राहत दिने लगायतमा पनि ध्यान दिइरहेको बताउनुभयो । नाकाबन्दी, भूकम्प र कोभिडको समयको स्मरण गर्दै उहाँले रोकिएका समानहरु काठमाडौं ल्याउन विशेष पहल भूमिका खेलेको बताउनुभयो । यस्तै फुटपाथमा धेरै समान खपत हुने भन्दै सरकारले फुटपाथ हटाउनुभन्दा व्यवस्थापन गर्नु उचित हुने र लगानीकर्ता र श्रमिकबीच समान व्यवहार हुनुपर्ने समेत बताउनुभएको छ ।