काठमाडौँ – जिल्ला समन्वय समिति दार्चुलाको प्रमुखमा महादेव बडू कश्यप र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका अमर सिंह ठगुन्ना विजयी निर्वाचित भएका छन् ।
कश्यप नेपाली काँग्रेसका तर्फबाट बाम–लोकतान्त्रिक गठबन्धनका सांझा उम्मेदवार हुन् । कश्यप नेपाली काँग्रेस दार्चुलाका उप–सभापति समेत हुन् ।
काँग्रेसका प्रमुखसहित ५ र माओवादीका उपप्रमुखसहित ४ सदस्य निर्वाचित भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सदस्यमा गठबन्धनबाट नेपाली काँग्रेसका पुस्कर सिंह धामी, खडक सिंह धामी र बलदेव सिंह ठगुन्ना, महिला सदस्य सरस्वती सार्की, दलित सदस्यमा कमला सुनार निर्वाचित हुनुभएको छ ।
यस्तै महिला सदस्यमा नेकपा माओवादी केन्द्रका असमती टमटा र गौरी टमटा निर्वाचित हुनुभएको छ । गठबन्धनका उम्मेदवारहरुले १० मत ल्याएर विजयी भएका हुन् । प्रतिष्पर्धीका रुपमा रहेका एमाले उम्मेदवारहरुले ८ मत पाएका थिए ।
स्थानीय निर्वाचन सम्पन्न भएको एक महिनाभित्र जिसस गठन गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार सोमवार निर्वाचन गरिएको हो ।
दार्चुलामा स्थानीय तहको निर्वाचनमा नेकपा एमाले विरुद्धको मोर्चाबन्दी गर्न माओवादी र काँग्रेसबीच गठनबन्धन भएको थियो । तर नेपाली काँग्रेसले ९ वटा स्थानीय तहमध्ये एउटामा पनि जीत हासिल गर्न सकेन । जिल्ला सम्न्वय समितिमा बाम–लोकतान्त्रिक गठबन्धनका सम्पूर्ण उम्मेदवारहरु निर्वाचित भएका छन् ।