काठमाडौं – अर्थमन्त्री जर्नादन शर्मालाई फिर्ता बोलाउनेबारे नेकपा माओवादी केन्द्रमा छलफल भएको छ ।
पार्टीका शीर्ष नेताहरुका बीचमा अर्थमन्त्रीको काम कारवाहीको विषयलाई लिएर छलफल सुरु भएको माओवादी निकट स्रोतले बतायो । अर्थमन्त्रीको गतिविधिका कारण माओवादीमा खैलाबैला भएको छ ।
पार्टीभित्र अर्थमन्त्रीको विकल्प खोज्नुपर्ने कुरा उठेलगत्तै अध्यक्ष प्रचण्डले आइतबार नै शर्मालाई उनकै निवास खुमलटार बोलाएर छलफल गरेका थिए । उनीहरुबीच दिउँसो ४ बजेदेखि साढे ५ बजेसम्म छलफल भएको थियो । तर छलफलमा के भयो भन्नेबारेमा चाहिँ खुलेको छैन ।
प्रचण्डका स्वकीय सचिव रमेश मल्लले अर्थमन्त्री शर्मा आइतबार दिउँसो चार बजे आएर करिब दुई घण्टा प्रचण्ड निवासमा बसेर गएको पुष्टि गरे । तर छलफलबारे भने आफूलाई कुनै जानकारी नभएको बताए ।
अर्थतन्त्र संकटमा रहेका बेला त्यसलाई सम्हाल्ने गरी काम गर्न नसकेको भन्दै शर्माको माओवादीभित्रै र सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसभित्र पनि आलोचना भइरहेको छ ।
यसअघि नै शर्मालाई हटाउने कोसिस भएको भए पनि बजेट ल्याउने बेलामा नराम्रो सन्देश जाने भन्दै त्यसलाई बजेटपछि सारिएको थियो ।