सेयर बजार साताको ६ दिन खुल्ने, शुक्रबार भने दिउँसो १ बजे बन्द हुने

काठमाडौँ – आगामी असार १ गतेदेखि लागु हुने गरी सेयर बजार साताको ६ दिन खुल्ने भएको छ। नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार असार १ गतेदेखि बजार शनिबार बाहेक साताको ६ दिन खुल्ने भएको हो।

उनका अनुसार आइतबारदेखि बिहीबारसम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सेयर कारोबार खुला रहनेछ भने शुक्रबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म बजार खुला हुने भएको हो।

सरकारले आइतबार समेत दिँदै आएको सार्वजनिक बिदा खारेजको घोषणा गरेसँगै नयाँ निर्णय भएको हो। यस अघि पुरानै व्यवस्था अनुसार आइतबार बजार खुल्ने र शुक्रबार बन्द हुन सक्ने बताइएको भएपनि नयाँ निर्णय अनुसार शुक्रबार दुई घण्टालाई भएपनि बजार खुल्ने भएको हो।

लगानीकर्ताहरू शुक्रबारको कारोबारमा समेत अभ्यस्त भइसकेको र पछिल्लो समय सेयर कारोबारको राफसाफ लगायतका कामहरू प्रविधिको प्रयोगले हुन थालेसँगै यस्तो निर्णय गरिएको बुझिएको छ।

गत जेठ १ गतेदेखि सरकारले परीक्षणको लागि भन्दै शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। नेप्सेले पनि सरकारको निर्णयसँगै आइतबार बिदा दिएर शुक्रबार नियमित कारोबार गरिरहेको थियो।

उक्त निर्णय गत जेठ २४ गते फिर्ता लिइएको छ। अब साताको एक दिन (शनिबार) मात्रै सार्वजनिक बिदा हुने भएको हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्