लम्की – आसन्न स्थानीय तहको निर्वाचनमा लम्कीचुहा नगरपालिकाको मेयरमा स्थानीय २१ वर्षीय युवा उदय भाटले स्वतन्त्र उम्मेदवारी घोषणा गरेका छन् । लम्की बहुमुखी क्याम्पसमा स्नातक तहमा अध्ययनरत भाट सामाजिक काममा सक्रिय भएका कारण युवाहरु माझ लोकप्रिय छन् । स्थानीय स्तरमा समाजिक गतिविधिमा सक्रिय भाटले राजनीति र नेतृत्वप्रति व्याप्त वितृष्णा बदल्नका लागि स्वतन्त्र रुपमा राजनीतिमा सक्रिय भएको भन्दै उम्मेदवारी घोषणा गरेका हुन् ।
फरक चाहनेहरुको लागि एउटा विकल्प होस् भन्ने हेतुले उम्मेदवारीको घोषणा गरेको बताउने भाटले असहाय बालबालिकाहरूको लागी सहारा बन्दै आएका, आर्थिक अबस्था कमजोर भै उपचार गराउन नसक्ने ब्यक्तिको लागि सहयोग अभियान सन्चालन गरी पीडितलाई सहयोग गर्ने गरेका छन । “यो समय समाजमा फरक सोच राख्ने व्यक्तिहरुको लागि पनि सर्वेक्षणको समय हो । यो मत मात्रै होइन मनको सर्वेक्षण गर्ने समय पनि हो,“ २१ वर्षीय उदयले भने ।