काठमाण्डौ – आज बालाचतुर्दशी देशभरका शिव मन्दिरहरुमा भक्तजनको घुइँचो लागेको छ । हरेक वर्ष मंसिर कृष्ण पक्ष चतुर्दशीका दिन बालाचतुर्दशी मनाउन काठमाण्डौको पशुपतिसहित देशभरका शिव मन्दिरमा भीड लागेको हो । त्रयोदशीका दिन हिजो बेलुकीदेखि दिवङ्गत पितृका नाममा अखण्ड दीपदान गरी बसेका भक्तजनले आज पितृको सद्गतिको कामना गर्दै शतबीज छर्ने गर्छन् ।
उनीहरु हिजो बेलुकी दिवङ्गत पितृका नाममा दीपदान गरेर रातभर जाग्राम बसेका हुन्छन् । मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो।
माता पिता दिवङ्गत भइ एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज रोपण गर्नु नहुने नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्व अध्यक्ष डा रामचन्द्र गौतमले बताउनुभयो ।