‘आत्मसमृद्धि र गालिगलौचमा रुमल्लिएको नेपाली राजनीति’

काठमाडौँ – त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. अक्कलदेव मिश्रले संसारमा राजनीतिलाई सेवाको रुपमा लिइने भए पनि नेपालमा विशुद्ध पेशाको रुपमा लिन थालिएको टिप्पणी गरेका छन् । राजनीतिकै कारण देशमा आर्थिक तथा सामाजिक बिसंगती उत्पन्न हुन पुगेको पनि उनको जिकिर छ । ‘संसारका समृद्ध लगायत अधिकांश राष्ट्रहरुमा राजनीतिलाई निस्वार्थ सामाजिक सेवाको रूपमा लिईन्छ तर नेपालमा भने यसलाई बिशुद्ध पेशाको रूपमा लिनथालिएको देखिन्छ’ प्राध्यापक डा. मिश्रले भने । उनले अगाडी थपे ‘जसले गर्दा देशमा आर्थिक तथा सामाजिक बिसंगती उत्पन्न हुन पुगेको छ । राजनीतिक पार्टीलाई एउटा स्कुलको रुपमा र नेतृत्वलाई गुरुका रूपमा लिने गरिन्छ जहाँ नेतृत्वको अधिकांश समय राष्ट्रिय चिन्तनमा खर्च हुनेगर्छ अनि देश बिकास लाई उपलब्धि मानिन्छ तर यसको ठिक उल्टो नेपालमा आत्मसमृद्धि र गालिगलौचमा नै अधिकांश पार्टीका नेताहरू पूर्णकालीन रुपले लीन भएको देख्दा साह्रै दया लागेर आउँछ ।’

नेताहरुको कुण्ठा र इर्स्याले मात्रै देश चल्न नसक्ने मिश्रको तर्क छ । उनले भने, ‘यिनिहरुको ज्ञान प्रति आ‌शंका गर्ने ठाउँ छ। अतितका कुण्ठा र इर्स्याले मात्रै देश चल्न सक्दैन । सकारात्मक सोचाइ र राष्ट्रिय समर्पण हुनु आवश्यक छ ।’

सरकार बन्नु, सरकार ढल्नु, पार्टी फुट्नु, पार्टी जुट्नु, मन्त्री बन्नु, मन्त्री हट्नु आदि सित जनताको कुनै सरोकार नभएको मिश्रको भनाई छ । ‘जनताले फगत सम्पन्नता र सभ्यताको माध्यमबाट २१औं शताब्दीको आधुनिक नेपाल खोजेको छ । यहाँ राजनिती अझै खर्चिलो र तरल हुँदै जाने अनि राष्ट्रिय वैभवको चरम दोहन हुने प्रबल संभावना छ । भ्रष्टाचार, बिसंगती र दण्डहीनता बढ्दो छ । भावीपुस्ताले बर्तमान राजनीतिक परिवेशबाट कसरी अनि के सिकेर देश सम्हाल्ने होला खै ?’ प्राध्यापक डा. मिश्रले भने ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्