काठमाडौँ – तीजको मुखमा तरकारीको भाउ महँगिएको छ । डेढ साताअघि देशका विभिन्न ठाउँमा आएको बाढीपहिरो र डुबानका कारण तरकारी आयातमा अवरोध पुगेपछि भाउ बढेको हो ।
बाढीपहिरोले सडकमा क्षति पुगेर तरकारी आयात नै कम हुन थालेपछि उपत्यकामा तरकारीको भाउ आकाशिएको व्यापारी बताउँछन् ।
निषेधाज्ञाको अन्त्य भएसँगै बजारमा मानिसको चहलपहल बढ्नुुका साथै महिलाको महानपर्व तीजमा होटल, रेस्टुरेन्ट, पार्टी प्यालेस खुलेकाले तरकारीको माग पनि पहिलेभन्दा अझै बढेको तरकारी व्यवसायीहरुको भनाई छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्याङ्कअनुसार केही दिनदेखि गोलभेँडाबाहेक अन्य तरकारीको भाउ महँगो भएको छ । थोक मूल्यमै भाउ बढेपछि खुद्रा व्यापारीले पनि मनोमानी रूपमा मूल्य बढाउँदै आएका छन् ।
समितिका अनुसार भदौको पहिलो साता प्रतिकेजी २०/२५ रुपियाँमा पाइएको भिन्डी बढेर अहिले थोकमै ७० रुपियाँ पुुगेको छ । काँक्रो, सिमी, करेला पनि ३०/४० रुपियाँबाट बढेर ८० देखि ९० रुपियाँ पुुगेको छ । काउली, बन्दा, घिरौँला, लौकालगायतका तरकारीको भाउ पनि महँगो भएको समितिले जनाएको छ ।
गोलभेँडा भने प्रतिकेजी २५/३० रुपियाँबाट घटेर थोकमा २०/२२ रुपियाँमा झरेको छ । समितिका अनुसार शनिवार बजारमा झन्डै एक हजार एक सय मेट्रिक टनको हाराहारीमा बजारमा तरकारी भित्रिएको छ ।