काठमाण्डौ – राष्ट्रपति विद्यादेवी भण्डारीले बलाधिकृत रथी प्रभुराम शर्मालाई यही भदौ २४ गतेदेखि लागू हुने गरी नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले रथी शर्मालाई प्रधानसेनापतिमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयबाट आज जारी विज्ञप्तिमा जनाइएको छ । उहाँ ४४ औँ प्रधानसेनापति हुनुहुन्छ ।
राष्ट्रपति भण्डारी नेपाली सेनाका परमाधिपति हुनुहुन्छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे कार्यकाल यही भदौ २४ गतेदेखि सकिँदैछ । शर्माले भारतबाट राष्ट्रिय प्रतिरक्षा, संयुक्त राज्य अमेरिकाबाट आतङ्कवाद तथा सुरक्षा, थाइल्यान्ड र पाकिस्तानबाट प्रतिरक्षा एवम् बङ्गलादेशबाट शान्ति सेनासम्बन्धी उच्चस्तरीय तालिम लिनुभएको छ ।
त्रिभुवन विश्वविद्यालयबाट इतिहासमा स्नातकोत्तर र भारतको मद्रास विश्वविद्यालयबाट प्रतिरक्षा तथा रणनैतिक शास्त्रमा एमफिल गर्नुभएका शर्माले नेपाल तथा विश्वको इतिहासलगायत राष्ट्रिय प्रतिरक्षा सम्बन्धमा गहन अध्ययनसमेत गर्नुभएको छ ।