नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक वाट्मोरले दिए राजीनामा

काठमाडौं – नेपालको राष्ट्रिय क्रिकेट टिमका मुख्य प्रशिक्षक डेभ वाट्मोरले राजीनामा दिएका छन् । वर्ल्ड क्रिकेट लिग टूको त्रिकोणात्मक सिरिज खेल्न ओमान पुगेका उनले इमेलमार्फत नेपाल क्रिकेट संघ (क्यान)लाई राजीनामा बुझाएका हुन् ।

क्रिकेट संघका सचिव अशोकनाथ प्याकुरेलले मुख्य प्रशिक्षक वाट्मोरले राजीनामा दिएको पुष्टि गरेका छन् । सेप्टेम्बर १३ देखि २० सम्म हुने नेपाल, अमेरिका र ओमानको त्रिकोणात्मक सिरिज मुख्य प्रशिक्षकबाट बिदा लिन चाहेको उनले उल्लेख गरेका छन् ।

राजीनामा पत्रमा उनले महामारीका बेलामा परिवारसँग टाढा बस्नु उपयुक्त नलागेको उल्लेख गरेका छन् । क्रिकेट संघले वाट्मोरलाई २ पुस २०७७ मा एक वर्षका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

श्रीलंकालाई विश्वकप जिताएका प्रशिक्षक वाट्मोर नेपाल आउनु अघि सिंगापुरको प्रशिक्षक थिए । प्रशिक्षण करिअरको उत्तरार्धमा रहेका उनी नेपालमा राम्रो प्रभाव छाड्न चाहन्थे । तर नेपालमा सोचे जस्तो भएन । एक त कोरोना महामारीका कारण लामो समय क्रिकेट गतिविधि ठप्प जस्तै भयो । त्यसमाथि क्रिकेट संघको व्यवस्थापन पनि भद्रगोल रह्यो । श्रम सम्झौताकै कारण उनले शुरुको तीन महिना समयमा तलब पाउन नसकेको क्यान स्रोतले बताएको छ । पछिल्लो पटक राष्ट्रिय टिमका पूर्व कप्तान पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिए, जुन उनका लागि अनपेक्षित थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्