नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बानेश्वरमा खोले सम्पर्क कार्यालय

काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले १४औँ महाधिवेशनको तयारी स्वरुप बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय खोलेका छन् ।

कांग्रेसको सभापति पदमा उम्‍मेदवारी दिने निर्णयगरेसँगै निधिले शुक्रबार बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालय उद्घाटन गरेका हुन् ।

बिहान नौ बजेको शुभसाइतमा उनले विभिन्न मन्दिरका पूजारी ल्याएर २१ ताराको पूजा गरेका थिए। निधिको सचिवालयका अनुसार पशुपतिनाथ, जानकी, दक्षिणकाली, बगलामुखी, डोलेश्वरलगायत विभिन्न पवित्र मन्दिरका पूजारी तथा पण्डितबाट पूजा गरिएको थियो। उनलाई विभिन्न ज्योतिष, पञ्चाङ्ग निर्णायक समिति र मुस्लिम धर्मका मौलनाहरूले पनि विजयको आशिर्वाद दिएका थिए।

निधिले दिउँसो सम्पर्क कार्यालयको उद्घाटन गरेका छन्। सम्पर्क कार्यालयमा निधिका समर्थक/शुभेच्छुक नेता/कार्यकर्ता उपस्थित थिए। निधिले सम्पर्क कार्यालयका लागि बैंक्वेट नै भाडामा लिएका छन्। सम्पर्क कार्यालयमा स्वास्थ्य उपचारसम्मको व्यवस्था गरिएको छ।

उनले सभापति शेरबहादुर देउवालाई आफू पनि सभापति पदमा उम्मेदवारी दिने जानकारी गराइसकेका छन् । तर, देउवाले भने सभापतिमा दाबेदारी नगर्न आग्रह गर्दै आएका छन् । देउवाका विश्वासपात्र मानिएका निधिले सभापतिको उम्मेदवारीबाट पछि नहट्ने घोषणा गर्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्