अफगानिस्तानमा सरकारी सेनासँगको सङ्घर्षमा विद्रोही तालिबान बलियो बन्दै

काठमाण्डौ – अफगानिस्तानमा सरकारी सेनासँगको सङ्घर्षमा विद्रोही तालिबान बलियो बन्दै गएको छ । तालिबानले अहिलेसम्म १० वटा प्रान्तीय राजधानीलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

आज बिहीवार तालिबानले निकै रणनीतिक महत्त्वको मानिएको गजनी सहरलाई नियन्त्रणमा लिएको बीबीसीले जनाएको छ । अफगानिस्तानको राजधानी काबुल जोड्ने मुख्य मार्गमा पर्ने गजनी सहर नै नियन्त्रणमा लिएपछि तालिबानलाई काबुल नियन्त्रण गर्न सहज हुन सक्ने खबरमा उल्लेख गरिएको छ ।

२० वर्षपछि अफगानिस्तानबाट अमेरिकी सेना स्वदेश फर्किएसँगै तालिबान बलियो अवस्थामा पुगेको छ भने सरकारी सुरक्षा फौज नाजुक बन्दै गएको छ । विद्रोहीहरू दिनदिनै प्रान्तीय राजधानी नियन्त्रण गर्दै अघि बढेका छन् र उनीहरूलाई रोक्न सरकारी सुरक्षा फौजलाई मुस्किल परिरहेको छ ।

हिजो हेल्मन्डको राजधानी लश्कर गाह नियन्त्रण गरेका तालिबानले कान्दहारमा पनि सुरक्षा फौजमाथि आक्रमण गरेका थिए ।

संयुक्त राष्ट्र सङ्घका अनुसार गएको महिनामात्रै अफगानिस्तानमा एक हजार जना सर्वसाधारण मारिएका छन् । लाखौँ नागरिक घर छाडेर सुरक्षित ठाउँतर्फ गइरहेका र कतिपय भोकभोकै रहेको पनि खबरमा उल्लेख छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्