काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भेटवार्ता हुनेभएको छ । स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङकाअनुसार दुई नेताबीच भेटवार्ता हुने तयारी भएको भए पनि समय र स्थानबारे टुङ्गो लागिसकेको छैन ।
विघटित कार्यदलका सदस्यहरुको नियमित अनौपचारिक संवाद र हलका कारण दुई नेता भेटवार्ताका लागि तयार भएका हुन् । नेता नेम्वाङका अनुसार मंगलबार साँझसम्म अध्यक्ष ओली र नेता नेपालबीच भेटवार्ता हुनेछ ।
नेता नेपाल पक्षको स्थायी कमिटी बैठकले पनि पार्टी एकतामै जोड दिंदै वार्ताका लागि तयार हुन नेता नेपाललाई सुझाएको थियो । सोमबार बसेको सो पक्षको बैठकले पार्टी एकता गरेरै अघि बढ्नुपर्ने भन्दै त्यसका लागि वार्ताको पहल लिन नेता नेपालसँग आग्रह गरेको थियो । दुवै पक्षका विघटित कार्यदलका सदस्यहरुको जोडबल र सक्रियताले दुई नेताहरु बैठक बस्न राजी भएको बताइएको छ ।