सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढ्यो, अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ ८६ सेन्टिमिटर बढेको छ । सगरमाथाको नयाँ उचाइ नेपाल र चीनले एकैपटक मंगलबार सार्वजनिक गरेको हो । अब सगरमाथाको उचाइ ८८४८.८६ मिटर पुगेको नापी विभागमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले घोषणा गरे ।

उचाइ मापन भने नेपाल र चीनले छुट्टाछुट्टै गरेको थियो । फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांक नापी विभागले प्रशोधन गरेको हो । चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल गरेको विभागले जनाएको छ । १० मंसिरमा बसेको मन्त्रिपरिषद् बैठकले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उचाइ सार्वजनिक गर्न स्वीकृति दिएको थियो । चीनसँग समन्वय भने परराष्ट्रय मन्त्रालयले गरेको हो ।

सगरमाथाको उचाइ पहिलो पटक सन् १८४९ मा जर्ज एभरेस्टको नेतृत्वमा सम्पन्न भएको थियो । जसको नामबाट सगरमाथाको अंग्रेजी नाम एभरेस्ट राखिएको हो । सन् १८४९ देखि १८५५ सम्म देहरादुन र बिहारको सोनाखोडाबाट त्रिकोणमितीय विधिबाट सगरमाथाको उचाइ नापिएको थियो ।

सन् १९५४ मा सर्भे अफ इन्डियाले बिहारबाटै गरेको मापनमा सगरमाथाको उचाइ ८ हजार ८ सय ४८ मिटर देखिएको थियो । यही उचाइलाई सबैले मान्दै आए पनि पछिल्लो समय चीन र नेपालबीच सगरमाथाको उचाइबारे एकमत थिएन । गत वर्ष चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका क्रममा चीनले संयुक्त रुपमा सगरमाथाको उचाइ घोषणा गर्न सहमत भएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्