मन्त्री अर्यालको पहलमा स्याङजाका पहिरो पीडितलाई १८ लाख राहत बितरण

भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले स्याङ्जा जिल्लाका विभिन्न क्षेत्रमा पहिरोमा परि मृत्यु भएका तथा घाइते भएकाहरुको परिवारलाई छुट्टाछुट्टै कार्यक्रमको आयोजना गरी राहत रकम हस्तान्तरण गर्नुभएको हो ।

मन्त्री अर्यालले पहिरो पीडितको घरमै पुगेर नेपाल सरकार र सहकारी अभियानको तर्फबाट नगद १८ लाख ५ हजार रुपैयाँ राहत रकम हस्तान्तरण गर्नुभएको हो । मन्त्री अर्यालले वालिङ नगरपालिका, गल्याङ नगरपालिका र कालीगण्डकी गाउँपालिकाका केही दिन अघी गएको पहिरो पीडितलाई नगद १८ लाख ५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गर्नुभएको हो ।

मन्त्री अर्यालले गत असोज ८ गतेको पहिरोमा परि वालिङ नगरपालिका–१४ तमादीमा पुगेर मृतकको परिवारलाई १० लाख २० हजार प्रदान गर्नुभएको हो । राहत रकम नेपाल सरकारको तर्फबाट ७ लाख र मन्त्रालयको पहलमा ३ लाख रकम मन्त्रीले प्रदान गर्नुभएको हो । असोज ८ गते घर माथिबाट आएको पहिरोमा पुरिएर माया नेपालीको ८ जना परिवार र बहिनी उमाकला गरी ९ जनाको मृत्यु भएको थियो । यसैगरी मन्त्री अर्यालले कालिगण्डकी गाउँपालिका–४ मा गत असोज ८ गते गौतमडाँडा र असार ३० गते खहरेमा पहिरोले पुरिएर मृत्यु भएका परिवारलाई राहत प्रदान गर्नुभएको छ ।

पहिरो पीडित परिवारको घरमै पुगेर मन्त्री अर्यालले राहत प्रदान गर्नुभएको हो । उहाँले असोज ८ गते मृत्यु भएका १७ वर्षिय बिष्णु दमैको परिवालाई केन्द्र सरकारको तर्फबाट २ लाख, प्रदेश सरकारको तर्फबाट ५० हजार र सहकारीको तर्फबाट ४० हजार राहत प्रदान गर्नुभएको हो । यसैगरी उहाँले पहिरोले घरमा क्षति पुगेको औमायाँ नेपालीलाई २० हजार र अन्य तीन परिवारलाई ५/५ हजारका दरले सहयोग रकम हस्तान्तरण गर्नुभएको हो । यसैगरी गत असार ३० गते पहिरोमा परेर मृत्यु भएका चार जनाका परिवारलाई सहकारी संघका तर्फबाट २०/२० हजार र बिस्थापित चार परिवारलाई १५/१५ हजार राहत मन्त्री अर्यालले प्रदान गर्नुभएको हो ।

वालिङ नगरपालिका–११ मा पहिरोबाट मृत्यु भएका स्वर्गीय दुर्गाबहादुर थापाको परिवार तथा घाइतेहरुलाई २ लाख ५० हजार, घाइते मुना थापालाई २० हजार, नारयणी सिञ्जाली १० हजार, दिलबहादु परियारलाई १० हजार रुपैयाँ राहत रकम हस्तान्तरण गर्नुभएको थियो । त्यसक्रममा आयोजीत श्रद्धाञ्जलीसभामा मन्त्री अर्यालले मृतकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारमा समवेदना एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्नुभएको थियो । मन्त्री अर्यालको संयोजनमा नेपाल सरकार, प्रदेश सरकार तथा राष्ट्रिय सहकारी बैंक र काठमाडौं जिल्ला सहकारी संघ समेतको सहयोगमा उक्त रकम हस्तान्तरण गरिएको मन्त्रीका स्वकीय सचिव बुद्ध घर्तीले जानकारी दिनुभयो ।

सरकारको तर्फबाट १२ लाख ५ हजार, काठमाडौं जिल्ला सहकारी संघको संयोजनमा काठमाडौंमा विभिन्न सहकारी संस्थाहरु र राष्ट्रिय सहकारी बैंकको तर्फबाट ६ लाख रुपैयाँ गरी जम्मा १८ लाख ५ हजार रुपैयाँ स्याङ्जाका विभिन्न ठाउँमा पहिरोबाट पीडित भएकाहरुलाई हस्तान्तरण गरिएको हो । जिल्ला सहकारी संघ स्याङ्जाको अनुरोधमा जिल्ला सहकारी संघ काठमाडौं, काठमाडौंका विभिन्न सहकारी संस्था र राष्ट्रिय सहकारी बैंकमार्फत पहिरो पीडितलाई ६ लाख राहत सहयोग गरिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्