काठमाडाैँ – रसायनशास्त्र विद्यार्थी संगठन नेपालको ‘साप्ताहिक अनलाईन अन्तरक्रिया कार्यक्रम’ को १३औं शृङ्खला सम्पन्न भएको छ । शनिबार करिब २ घण्टा चलेको अन्तरक्रिया कार्यक्रममा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका स्नातक र स्नातकोत्तर रसायनशास्त्र अध्ययनरत विद्यार्थी र अन्य सरोकारवालाहरु गरि करिब ६० जनाको सहभागीता रहेको थियो ।
कार्यक्रममा त्रि-चन्द्र बहुमुखी क्याम्पसका उप-प्राध्यापक एवं नेपाल पोलिमर इन्सिटिच्युटका अध्यक्ष डा. राजेश पण्डितले ‘रसायन विज्ञान अनुसन्धानका आधारभूत चरणहरू र परिप्रेक्ष्यहरू’ विषयमा बोलेका थिए । अन्तरक्रिया कार्यक्रममा विषयवस्तु सम्बन्धित उठेका आधा दर्जन बढी प्रश्नहरुको जवाफ डा. पण्डितले दिएका थिए । कार्यक्रममा रिकास्टका कार्यकारी निर्देशक तथा सिसानका प्रमुख सल्लाहकार प्रा.डा. रामेश्वर अधिकारी तथा डा. अजय भट्टराईले शुभकामना मन्तव्य व्यक्त गर्दै अब संस्थाले अन्तर्राष्ट्रिय स्तरको अन्तरक्रिया कार्यक्रम आयोजना गर्नमा पहल गर्न सुझाएका थिए ।
कार्यक्रममा पीएचडी अनुसन्धान विज्ञहरु र रसायनशास्त्र, फार्मेसी, माइक्रोबायोलोजी र वायोटेक्नोलोजीका विद्यार्थीहरुको पनि सहभागीता रहेको थियो । राजेन्द्र जोशी, विकास निरौला र सौरभ कटुवाल प्राविधिक रहेका थिए । कार्यक्रममा संस्थाका अनुसन्धान संयोजन समितिका संयोजक सौरभ कटुवालले ’कोरोना अपडेट’ गराएका थिए भने संस्थाका सदस्य प्रतिमा खड्काले वक्ताको छोटो परिचय प्रस्तुत गरेकी थिइन् भने सदस्य विकास निरौलाले रिपोर्ट प्रस्तुत गरेका थिए । कार्यक्रम संस्थाका अध्यक्ष याम रोका मगरको अध्यक्षतामा सम्पन्न भएको थियो । कोरोना भाइरसको कारण देश लकडाउन भएपछि संगठनले ‘अनलाईन अन्तरक्रिया’ कार्यक्रमको सुरुवात गरेको थियो । संस्थाले पाक्षिक रुपमा प्रकाशन गर्दै आइरहेको ‘कोरोना खोजी’ न्युज लेटरको चौथो अंकको लागि कोरोना भाइरससँग सम्बन्धित लेख रचना आगामी साउन १७ गते शनिबारसम्म पठाउन पनि आग्रह गरेको छ ।