क्रिकेट रङ्गशाला निर्माणबारे छलफल गर्न एनपीएलका आठै टोलीका मालिकलाई मन्त्रालय बोलाइयो

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै फ्रेन्चाइज टोलीका मालिकलाई डेडिकेटेड क्रिकेट रङ्गशाला निर्माणका विषयमा छलफल गर्न मन्त्रालयमा बोलाउनुभएको छ।

मन्त्री पोखरेलले आज दिउँसो ३ बजे छलफलका लागि आठवटै फ्रेन्चाइज टोलीका मालिकलाई मन्त्रालयमा उपस्थित हुन निमन्त्रणा गर्नुभएको हो। प्रधानमन्त्री वालेन्द्र शाहले एनपीएलका आठवटै टोलीका लागि छुट्टाछुट्टै फ्लडलाइटयुक्त क्रिकेट रङ्गशाला निर्माण गर्ने घोषणा गरेपछि मन्त्रालयले यस विषयमा छलफल अघि बढाउन लागेको हो। प्रधानमन्त्री शाहले शनिबार सामाजिक सञ्जालमार्फत एनपीएलको छैटौँ संस्करणदेखि होम एन्ड अवे प्रणालीमा प्रतियोगिता सञ्चालन गर्ने गरी प्रत्येक टोलीका लागि आफ्नै घरेलु मैदानसहितको क्रिकेट रङ्गशाला निर्माण गरिने घोषणा गर्नुभएको थियो।

घोषणाअनुसार विराटनगर किंग्सका लागि बैजनाथपुर, लुम्बिनी लायन्सका लागि सिद्धार्थनगर, कर्णाली याक्सका लागि सुर्खेत र सुदूरपश्चिम रोयल्सका लागि धनगढीको फाप्लामा क्रिकेट रङ्गशाला निर्माण गरिनेछ। त्यसैगरी काठमाडौं गुर्खाजका लागि कीर्तिपुर क्रिकेट मैदान, पोखरा एभेन्जर्सका लागि पोखरा क्रिकेट रङ्गशाला, जनकपुर बोल्ट्सका लागि रामजानकी क्रिकेट रङ्गशाला र चितवन राइनोजका लागि गौतमबुद्ध क्रिकेट रङ्गशाला निर्माण गर्ने योजना सार्वजनिक गरिएको छ।

प्रधानमन्त्री शाहका अनुसार फाप्ला क्रिकेट रङ्गशालाको निर्माण प्रक्रिया अघि बढिसकेको छ भने अन्य रङ्गशालाको निर्माण प्रक्रिया आगामी तीन महिनाभित्र सुरु गरिनेछ। यी पूर्वाधार नेपाल सरकारको पूर्वाधार विकास मन्त्रालयमार्फत निर्माण गर्ने योजना रहेको छ। रङ्गशाला निर्माण सम्पन्न भएपछि एनपीएललाई होम एन्ड अवे प्रणालीमा सञ्चालन गर्ने सरकारको लक्ष्य छ। यसबाट नेपाली क्रिकेटलाई काठमाडौंमा मात्र सीमित नराखी देशका विभिन्न सहरमा विस्तार गर्न, स्थानीय स्तरमा खेलकुद गतिविधि बढाउन र क्रिकेटको व्यावसायिक विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्