छोरा हराएको खबर गर्न फोन गर्दा प्रहरी हवल्दारमाथि गालीगलौज, छानबिन र कारबाही प्रक्रिया अघि

 

रौतहट । छोरा हराएको जानकारी गराउन फोन गरेका प्रहरी हवल्दारमाथि आफूलाई प्रहरी सहायक निरीक्षक (सई) बताउँदै गालीगलौज गरेको अडियो सार्वजनिक भएपछि रौतहट प्रहरीले छानबिन तथा कारबाही प्रक्रिया अघि बढाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा कार्यरत प्रहरी हवल्दार बुधन महतोमाथि दुर्व्यवहार गरेको आरोप लागेको हो।

घटनाबारे मधेस प्रदेश प्रहरी कार्यालय जनकपुरधामले गम्भीर ध्यानाकर्षण जनाउँदै सत्यतथ्य छानबिन गर्न निर्देशन दिएपछि जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान सुरु गरेको छ।

सन्तपुर बेसमा कार्यरत प्रहरी हवल्दार सुरेशप्रसाद यादव आफ्नो छोरा सम्पर्कविहीन भएपछि खोजी तथा उद्धारका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा फोन गरेका थिए। सोही क्रममा ‘जय नेपाल’ नभनेको भन्दै सञ्चार शाखामा कार्यरत महतोले आफूलाई सई बताउँदै यादवमाथि अपशब्द प्रयोग गरी गालीगलौज गरेको आरोप छ।

फोन संवादको अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरी संगठनभित्रै घटनाको आलोचना भएको छ। सार्वजनिक अडियोमा हवल्दार यादवले फोनमा ‘को बोल्नुभयो सर, हवल्दार साहेब कि असई साहेब’ भन्दै परिचय सोधेको सुनिन्छ। त्यसपछि आफूलाई सई बताउने महतोले बोल्ने शैलीप्रति प्रश्न गर्दै झपारेको र आफ्नो दर्जा बताउन नमिल्ने आशयको जवाफ दिएको सुनिन्छ।

महतोले आफू सई भएको परिचय दिएपछि यादवले ‘जय नेपाल’ भनेको र छोरा हराएको विषयमा जानकारी गराउन खोज्दा महतोले गालीगलौज गरेको अडियोमा सुनिन्छ। छोरा सम्पर्कविहीन भएको संवेदनशील अवस्थामा खोजी तथा उद्धारका लागि फोन गरेका प्रहरी कर्मचारीमाथि नै दुर्व्यवहार भएको आरोप सार्वजनिक भएपछि घटनाले थप चर्चा पाएको छ।

अडियो सार्वजनिक भएपछि नेपाल प्रहरी मधेस प्रदेश कार्यालय जनकपुरधामले घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ। प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालद्वारा जारी विज्ञप्तिमा मंसिर ४ गते जिल्ला प्रहरी कार्यालय रौतहटको सञ्चार शाखामा कार्यरत प्रहरी कर्मचारी र डुमरिया सुरक्षा बेसमा कार्यरत प्रहरी कर्मचारीबीच भएको संवादमा सुनिएको भाषा, शब्द र शैलीप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।

अडियोमा सुनिएको संवाद प्रहरी आचरणविपरीत रहेको भन्दै घटनाको वास्तविकता र कसको लापरबाही रहेको हो भन्ने विषयमा सत्यतथ्य छानबिन गर्न जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशन दिइएको विज्ञप्तिमा जनाइएको छ। छानबिनबाट दोषी देखिएका प्रहरी कर्मचारीलाई प्रहरी नियमावली, २०७१ (संशोधनसहित) बमोजिम आवश्यक कारबाही गरी यथाशीघ्र नतिजा प्रदेश प्रहरी कार्यालयमा जाहेर गर्नसमेत निर्देशन दिइएको छ।

यसअघि जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी लक्ष्मण शाहीले हवल्दार महतोमाथि कारबाही प्रक्रिया अघि बढाइएको बताएका थिए। घटनाबारे बुझ्न हवल्दार यादवलाई समेत बोलाइएको उनले जानकारी दिएका थिए।

डीएसपी शाहीका अनुसार महतोले गल्ती गरेको पुष्टि भए विभागीय कारबाही अघि बढाइनेछ। यद्यपि, हवल्दार यादवले अडियो सामाजिक सञ्जालमा सार्वजनिक गरेको विषय पनि अनुसन्धानका क्रममा उठाइएको उनले बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्