लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेको लुम्बिनी ११ अंकसहित शीर्ष स्थानमा रहँदै पहिलो क्वालिफायर खेलेर फाइनल पुगेको हो । पहिलो क्वालिफायरमा पनि लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको थियो । यसअघि लिग चरणको भेटमा समेत लुम्बिनीले सुदूरपश्चिममाथि ७ विकेटको जित निकालेको थियो ।
पहिलो क्वालिफायरमा पराजित भए पनि सुदूरपश्चिमले उपाधि यात्रालाई कायम राख्न सफल भयो । दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिमले फाइनलमा स्थान सुरक्षित गरेको हो । लिग चरणमा १० अंकसहित दोस्रो स्थानमा रहेको सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएलको फाइनलमा पुगेको टोली हो ।
यसअघि पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणमा लुम्बिनी लायन्ससँग पराजित भएको थियो । लगातार तीन पटक फाइनल पुगे पनि उपाधि जित्न नसकेको सुदूरपश्चिम यसपटक विगतको नतिजा बदल्दै पहिलो पटक च्याम्पियन बन्ने लक्ष्यमा छ । लुम्बिनीका कप्तान रोहित पौडेल र सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीको नेतृत्वमा रहेका दुवै टोलीमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटका अनुभवी खेलाडी छन् । आजको फाइनलले लुम्बिनीलाई उपाधि रक्षा गर्ने अवसर दिनेछ भने सुदूरपश्चिमलाई पहिलो पटक एनपीएल च्याम्पियन बन्ने मौका प्रदान गर्नेछ ।




