आज हरिबोधिनी एकादशी पर्व मनाइँदै, तुलसी र भगवान् विष्णुको विवाह गरिने

काठमाडौं – आज कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको यस पर्वलाई ठूलो एकादशीका रूपमा पनि चिनिन्छ । हरेक वर्ष कार्तिक शुक्ल एकादशीका दिन तुलसी र भगवान् दामोदर अर्थात् विष्णुको विवाह तथा विशेष पूजा आराधना गरी यो पर्व मनाउने परम्परा छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु आज ब्युँझने धार्मिक विश्वास रहेकाले यस दिनलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी पनि भनिन्छ ।

हरिशयनी एकादशीदेखि हरिबोधिनी एकादशीसम्मको चार महिनाको अवधिमा विष्णुभक्तहरूले तुलसीको व्रत र विशेष पूजा आराधना गर्ने परम्परा छ । भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले यस अवधिमा विवाह, व्रतबन्धलगायतका मांगलिक कार्य नगर्ने धार्मिक मान्यता रहेको छ । हरिशयनी एकादशीका दिन घरको मठमा रोपिएको तुलसीलाई आज भगवान् विष्णुसँग विवाह गराइदिने चलन छ । तुलसीको मठनजिकै भगवान् विष्णुको प्रतीकका रूपमा बाँस वा निगालाको लिङ्गो तथा उखुका लाक्रा गाडेर मठलाई लिपपोत गरी सजाइन्छ । त्यसपछि विधिपूर्वक तुलसी र भगवान् दामोदरको पूजा तथा विवाह गराउने परम्परा छ ।

यस दिन व्रत बस्ने भक्तजनले सखरखण्ड, पिँडालु र वनतरुल उसिनेर फलाहार गर्ने चलन छ । हरिबोधिनी एकादशीको व्रत तथा पूजा आराधना गरेमा पाप नष्ट भई पुण्य प्राप्त हुने र मोक्ष मिल्ने धार्मिक विश्वास छ । यस अवसरमा कतिपय स्थानमा भगवान् विष्णुको मूर्तिलाई रथमा राखेर यात्रा गराउने प्रचलनसमेत रहेको छ । हरिबोधिनी एकादशीका अवसरमा काठमाडौं उपत्यकाका चार नारायण मन्दिरसहित देशभरका विष्णु मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्दछ । भक्तपुरको चाँगुनारायण, काठमाडौंका शेषनारायण, इचंगुनारायण र विशंखुनारायणलाई उपत्यकाका चार नारायणका रूपमा चिनिन्छ ।

चार नारायणको दर्शन गर्न नसक्ने भक्तजनले काठमाडौंको उत्तरी क्षेत्रमा रहेको बूढानीलकण्ठस्थित नारायणस्थानको दर्शन तथा पूजा गरेमा चार नारायणको दर्शन गरेसरह फल प्राप्त हुने धार्मिक विश्वास छ । बूढानीलकण्ठमा आजदेखि कार्तिक शुक्ल पूर्णिमासम्म विशेष मेला लाग्ने गर्दछ । बूढानीलकण्ठमा भगवान् विष्णु र शिव दुवैको स्वरूप रहेको मूर्ति छ । एउटै विशाल शिलामा हरि अर्थात् विष्णु र हर अर्थात् शिवको स्वरूप देखिने भएकाले यस स्थानलाई धार्मिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्ण मानिन्छ । यहाँ दर्शन तथा पूजाआराधनाका लागि हरेक वर्ष ठूलो सङ्ख्यामा भक्तजन तथा पर्यटक पुग्ने गर्दछन् ।

हरिबोधिनी एकादशीसँगै चार महिनादेखि हुँदै आएको तुलसी पूजाको विशेष अनुष्ठान पनि समापन हुने धार्मिक मान्यता छ । आजदेखि मार्गशीर्ष कृष्ण पञ्चमीसम्म तुलसीको हवन गर्न साइत जुराउन नपर्ने विश्वास गरिन्छ । त्यसपछि भने हवनका लागि शुभ साइत हेर्ने परम्परा रहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रिक्रिया दिनुहोस्